टावर छ, नेटवर्क छैन: दोगडाकेदारवासी प्रभावकारी सञ्चार सेवाबाट वञ्चित
धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदा स्थानीय नागरिकले सास्ती भोग्नुपरेको छ। टावर सञ्चालनमा रहे पनि फोन गर्न र इन्टरनेट चलाउन समस्या भइरहेको स्थानीयको गुनासो छ। दोगडाकेदार गाउँपालिका–३ को लेकथला (सिल्लेगाडा) र वडा नम्बर २ को कफलकोट धुरामा रहेका नेपाल टेलिकमका टावरबाट प्रभावकारी सेवा पाउन नसकिएको स्थानीयले बताएका छन्। विशेषगरी वडा नम्बर ३ मा टावर हुँदाहुँदै पनि नेटवर्कको समस्या देखिएपछि स्थानीयले यस अवस्थालाई ‘बत्तीमुनिको अँध्यारो’ भनेका छन्।
नेपाल टेलिकम बैतडीका प्रमुख दिलबहादुर बोगटीले भने टावरमा कुनै प्राविधिक समस्या नरहेको बताएका छन्। उनका अनुसार टावरका आधार केन्द्र (बीटीएस) सञ्चालनमै रहे पनि जडान गरिएको क्षमताभन्दा बढी मोबाइल प्रयोगकर्ता सक्रिय हुँदा नेटवर्कमा समस्या देखिएको हो। बोगटीले टावरको क्षमता व्यवस्थापन तथा विस्तारको जिम्मेवारी नेपाल टेलिकमको डडेल्धुरा कार्यालयले हेर्ने भएकाले यस विषयमा थप जानकारी त्यहीँबाट लिन सकिने बताए।
नेपाल टेलिकम डडेल्धुरा कार्यालयका प्रमुख रामदत्त पन्तले पनि दोगडाकेदार र सुर्नया गाउँपालिकामा रहेका टावरमा प्राविधिक समस्या नरहेको बताए। उनका अनुसार प्रयोगकर्ताको सङ्ख्या बढेकाले नेटवर्कमा समस्या देखिएको हो। पन्तले नेटवर्कको समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावरको क्षमता वृद्धि (अपग्रेड) गर्ने विषयमा केन्द्रीय कार्यालयसँग समन्वय भइरहेको जानकारी दिए।
मोबाइल नेटवर्कमा समस्या हुँदा स्थानीयको दैनिक जनजीवनसमेत प्रभावित भइरहेको छ। पछिल्लो समय शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार तथा सरकारी सेवा लिनसमेत मोबाइल र इन्टरनेटको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा भरपर्दो सञ्चार सेवा नहुँदा विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी तथा सर्वसाधारणलाई समस्या भइरहेको छ।
भौगोलिक विकटताका कारण विभिन्न चुनौती सामना गर्दै आएका दोगडाकेदारवासीले टावर हुँदाहुँदै पनि सहज सञ्चार सेवा पाउन नसकेको गुनासो गरेका छन्। उनीहरूले नेपाल टेलिकमलाई नेटवर्कको क्षमता वृद्धि गरी सेवा नियमित र भरपर्दो बनाउन माग गरेका छन्।