सुदूरपश्चिमको पहिलो पाँच वर्षे उपलब्धिः ७६९ किलोमिटर सडक कालोपत्र
धनगढीः सुदूरपश्चिम प्रदेशको पहिलो पाँच वर्षे कार्यकाल सकिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको पहिलो पाँच वर्षे कार्यकाल सकिएसँगै सो अवधिसम्म भएका कामहरुको उपलब्धि समेत सार्वजनिक गरिएको छ।
प्रदेश सरकार गठनदेखि अहिलेमसम्म सात सय ६९ किलोमिटर सडक कालोपत्र भएको प्रगती विवरण सार्वजनिक गरिएको छ। साथै भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारी आएयता मात्र तीन सय ६९ किलोमिटर सडक कालोपत्र गरिएको दाबी छ। सडक पूर्वाधारमा ठुलो प्रगति भएको भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीले बताए।
सुदूरपश्चिम सरकारले पाँच वर्षको अवधिमा साना–ठुला गरेर सात सय ६९ किलोमिटर सडक कालोपत्रसहितको प्रगति विवरण सार्वजनिक गरेको हो।
यसमा प्रादेशिक गौरवका सडकहरुको प्रगतिसमेत जोडिएको छ। प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकालमा दुई हजार एक सय १४ दशमलव पाँच किलोमिटर ग्रावेल तथा कच्ची सडक निर्माण गरिएको उल्लेख छ। कैलाली–कञ्चनपुरका चुरे क्षेत्रमा समेत पाँच वर्षको अवधिमा सडक विस्तार भएको दाबी छ।
प्रदेशका नौवटै जिल्लामा प्रादेशिक सडक निर्माणका लागि ट्रयाक खोल्ने, स्तरवृद्धि तथा कालोपत्रको काम भइरहेको प्रदेश सरकारले जनाएको छ। स्थानीय तहका मुकामसम्म सडक कालोपत्रका लागि प्रदेशले सडक योजना कार्यान्वयन गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। सुदूरपश्चिमका ग्रामिण क्षेत्रसम्म सडक विस्तार भएको उनले बताएका हुन्।