सुदूरपश्चिमको खेलकुद परिषद्मा विवाद, १० सदस्यद्वारा बैठक बहिष्कार
धनगढीः सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का १० जना सदस्यले बैठक बहिष्कार गरेका छन्। मंगलबार बसेको १४ औँ बैठक बहुमत सदस्यले बहिष्कार गरेका हुन्। परिषद्का चित्रराज भट्ट, बहादुरसिंह वड, दुर्गा भण्डारी, सन्तोश बिक, झलक शाह, सञ्जिता चौधरी, प्रकाश बिक, अनिल श्रेष्ठ, चेतना बोहरा, जिवन भट्टले बैठक बहिष्कार गरेका हुन्।
हिजो बिहान ११ बजे प्रदेश स्वास्थ्य तालिम केन्द्रको हलमा बैठक बोलाइएको थियो। सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको अध्यक्षतामा बोलाइएको बैठक उनीहरुले बहिष्कार गरेका थिए। परिषद्मा हरेक निर्णय कार्यान्वयन गर्दा समन्वय नगरेर आफूखुसी गर्ने, आर्थिक पारदर्शीता कायम नगरेको, परिषद्का विभिन्न कार्यक्रमबारे जानकारी नदिने लगायतका कारणले बैठक बष्हिकार गरिएको परिषद्का सदस्य चित्रराज भट्टले बताए।
अर्का सदस्य बहादुरसिंह वडले सदस्य सचिव सिंहले परिषद्का कार्यक्रमको समिक्षा नगरेको, नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा खेलाडीलाई बन्द प्रशिक्षण सुविधा आफूखुसी दिएको, बैठक बोलाउने तर लिखित निर्णय नगर्ने प्रवृत्तिका कारण बैठक बष्हिकार गर्नुपर्ने परस्थिती सिर्जना भएको बताए।
तर, प्रदेश खेलकुद परिषद्को कार्यालयले भने यी आरोपहरु निराधार भएको दाबी गरेको छ। बैठक बहिष्कार गर्नेहरुले लिखित प्रक्रियामा भाग नलिएको बताइएको छ। राजनीतिक कारणले बैठक बष्हिकार गरेपनि परिषद्का सदस्यले बाहिर झुठा कुरा प्रचार गरेको समेत जनाइएको छ।