लगानीकर्ताहरुद्धारा नेपाल धितोपत्र बोर्डको कार्यालयमा ताला
विभिन्न माग राखेर शेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेका छन्। आफूहरुले राखेका ३२ बुँदे मागमा धितोपत्र बोर्डले बेवास्ता गरेकोले तालाबन्दी गर्नुपरेको लगानीकर्ता दबाब समूहका हरी ढकालले बताए। उनीहरुले माग पूरा नभएमा नेपाल स्टक एक्सचेन्जमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन्। बोर्डले भने पुँजिबजारको सुधार र विस्तारको लागि दवाव समूहले राखेका ३२ बुँदे माग मध्ये महत्वपूर्ण १९ वटा माग भने पूरा भैसकेको जनाएको छ। बोर्डमा तालाबन्दी भएको आफुले भर्खरै जानकारी पाएको र वार्ताको पहल भैरहेको बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीले उज्यालोलाई जानकारी दिए। सरकारले पुँजीबजारलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्नुपर्ने, दोहोरो कर हटाउनुपर्ने पुँजीबजार प्रत्यक्ष वैदेशिक लगानी भित्राउन नपाइने लगायतका माग शेयर लगानीकर्ताले राखेका छन्।