बैतडी पुर्याइए माया हत्याका आरोपित भरत
धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहार हत्याका आरोपित भरतराम कोलीलाई बैतडी पुर्याइएको छ। मायाको हत्या आरोपमा पक्राउ परेका उनलाई आइतबार राति बैतडी पुर्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो।
कोली आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा पक्राउ परेका थिए। सोमबार (आज) जिल्ला अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिने प्रहरी निरीक्षक लोकराज जोशीले बताए। कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।
कञ्चनपुर हुँदै भारत भाग्ने योजनामा रहेका उनलाई प्रहरीले आइतबार महेन्द्रनगर बसपार्कबाट पक्राउ गरेको थियो। उनको दायाँ हातमा रहेको घाउको आधारमा प्रहरीले पक्राउ गरेको हो। घटनाको पाँच दिनपछि उनी पक्राउ परेका हुन्। मायाको केही दिन पहिला भरतले फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको पीडित पक्षको भनाइ छ। माया र भरतबीच विवाह गर्ने कुरा समेत भइरहेका बेला उसले किन हत्या गर्यो भन्ने विषय अझै खुल्न बाँकी छ।
शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय कोली सशस्त्र प्रहरीको हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए। माया गएको चुनावमा म्यादी प्रहरी भएकी थिइन्। गत मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी माया बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
उनीसँगै गएकी उनकी भदै १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते अवस्थामा फेला परेकी थिइन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।