सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा

२०७९ मंसिर १३, ११:४६ कमल सावद

धनगढीः पूर्व प्रधानमन्त्री केपीशर्मा आलीले २०७५ फागुन ७ गते सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गरे। ५० किलोमिटर सडक कालोपत्रको काम सुरु भएको चार वर्षमा २९ किलोमिटर मात्र प्रगति देखिएको छ।

बाँकी सडक सडक कालोपत्रको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए। उनले भने, ‘काम जारी छ। ५० किलोमिटरमा पाँच किलोमिटर क्षेत्रमा सडक निर्माण गर्न बाँकी छ। यो वर्ष सकिन्छ।’

सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ। २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएकोमा २९ किलोमिटरको काम मात्र पुरा भएको हो। ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न सम्झौता गरिएको हो। तर सडक निर्माणको समयअवधि सकिदा पनि २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको छ।

सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ। ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले बताए। २०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक निर्माणको काम थालिएको थियो।

कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ५० किलोमिटर सडक सन २०२१ जुनमा सक्ने गरी ८ डिसेम्बर २०१८ मा पिआरएल कुमार जेभीसँग सम्झौता भएको थियो। २ अर्ब २५ करोड लागतको ५० किलोमिटर सडक निर्माणका लागि सरकारले एक्जिम बैंक अफ इन्डियासँग ऋण लिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस