सुदूरपश्चिममा गाई–गोरू वर्षभरी सडकमा, तिहारमा एक दिन पूजा
धनगढी: सनातन धर्म परम्पराअनुसार पशुचौपायालाई विभिन्न देवी देवताको प्रतीक मानेर पूजा गर्ने चलन छ। विभिन्न धार्मिक अनुष्ठानमा पशु चौपायाको पूजा गर्ने प्रचलन छ। तिहारमा थप महत्वका साथ पशुचौपायासँगै पन्छिको पनि पूजा गरिन्छ। तिहारमा काग, कुकुर, गाई-गोरुलाई पुज्ने चलन छ।
तर, पछिल्लो समय पशु पूजा केवल देखावटी रुपमा मात्रै गर्न थालिएको छ। खासगरि गाई-गोरू छाडा छाड्ने तर तिहारमा भने पूजा गर्नुले परम्पराको खिल्ली उडाएको महसुस गरिन थालिएको हो। सुदूरपश्चिममा गाई-गोरू छाडा छोड्ने क्रम बढेको छ भने तिहारको एक दुई दिन भने गाई गोरू पूजा गरेको नाटक मञ्चन हुन थालेको गोदावरी नगरपालिका वडा नम्बर २ का गोमती बडूले बताए।
'अहिले गाई पाल्नभन्दा मान्छेले धपाउन थालेका छन्, उनले भने, 'अहिले गाई-गोरू पूजा गर्न तिहारको दिनमा मात्रै नाटक चल्ने गरेको छ, गाई पाल्न नचाहनेले पनि सडकमा छोडिएका गाई एक दिन पूजेर धर्म कमाउने जमात बढ्दो छ।' सुदूरपश्चिममा गाई-गोरू घरबाट धपाउने क्रम बढ्दा, अन्य समस्या पनि बढ्दै गएका छन्। प्रदेशका कैलाली, कञ्चनपुरदेखि पहाडी जिल्लाका सहरी क्षेत्रमा सामुदायिक पशुचौपायाको समस्या बढ्दा सडक दुर्घटनासँगै र खेतीपातीमा नोक्सानी बढेको छ। केही वर्षदेखि सर्वसाधारणले गाई-गोरू स्वार्थवस मात्रै पाल्न थालेका छन्।
दूध दिउन्जेल गाई घरमा पाल्ने तर दूध दिन छोडेपछि धपाउने गर्नाले पशु संरक्षणमा चुनौती थपिएको छ। यस्तै पशु अधिकारको पनि हनन् भइरहेको छ। सामुदायिक चौपायाको समस्या बढेपछि स्थानीय तहले व्यवस्थापनमा ठुलो रकम खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन। वर्षभरि मर्दापर्दा, बिरामी हुँदा र पूजा पाठ गर्दा गाईको दूधमात्र होइन गहुँत र गोबरसमेत चाँहियो भनेर अनुरोध गर्ने तर गाई संरक्षणमा कुनै चासो नदिनु दुःखद रहेको गौ संरक्षणकर्मी रिता अवस्थीले बताए।
'अहिले सडकमा चौपाया धेरै छन्, ती सबै चौपाया निकै समस्यामा पनि छन्,' उनले भने, 'एकातर्फ हामीलाई विरामी भयो, मान्छे मरे गाईको दूध चाहियो भनेर माग्न पनि आउँछन्, गाई पाल्ने वातावरण निर्माण हुनु जरुरी छ।'
दूध दिउन्जे पाल्ने र पछि छाड्ने प्रवृत्तिले सामुदायिक चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मीले बताएका छन्। केही वर्षदेखि पशुचौपाया खासगरि गाई-गोरूप्रति समाजमा अमानवीय व्यवहार बढ्न थालेको छ। जन्मदेखि मृत्यु पर्यन्त गाई सबै अनुष्ठान र अवसरमा आवश्यक हुने भएकाले संरक्षण गर्न सबैको ध्यान जानुपर्ने गोपालदत्त अवस्थीले बताए।
'गाई संरक्षणमा सबैको ध्यान जानु जरुरी छ,' उनले भने, 'सनातन धर्ममा गरिने सबै यज्ञ, अनुष्ठान र शुभ कर्ममा गाईको स्थान महत्वपूर्ण हुन्छ, गाई संरक्षण गर्नु सबैको कर्तव्य र जिम्मेवारी हो।' चौपाया समस्या समाधानका लागि स्थानीय तहले लाखौँ खर्चेर गौशाला निर्माण गरेका छन्। केही गौशालामा गाई राखिएको भए पनि धेरैजसो पालिकाका गौशाला प्रयोगविहीन छन्।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ मा भने २५० गाई राखेको छ भने समुदायस्तरबाट खोलिएको वडा नम्बर ३ को कामधेनु गौशालामा १५० गाई छन्। गाईको महत्व धेरै भए पनि स्वार्थले गर्दा गाई छोड्ने क्रम बढेको संरक्षणकर्मी अवस्थीले बताए।
पशुचौपायाका कारण राजमार्ग क्षेत्रमा दुर्घटना हुने गरेको छ। यस्तै खेतीबारीमा गाईवस्तुले क्षति पुगाउने गरेका छन् भने चौपायामाथि दुर्व्यवहार हुने गरेको छ। सडक दुर्घटना र बिरामीका कारण चौपायाले दुःख भोग्नु परेको छ। स्थानीयस्तरमा चरिचरनको क्षेत्र नहुँदा किसानले गाईवस्तु पाल्न समस्या छ। सामुदायमा रहेका वन क्षेत्र चरनका लागि खुला गरिए गाई-गोरू सडकमा धपाउने समस्या हल हुने देखिन्छ।