बैतडीमा चक्कु प्रहारबाट व्यापारी घाइते
धनगढी : बैतडीमा चक्कु प्रहारबाट एकजना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर २ शर्मालीमा व्यापारी लालसिंह साउँद चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार साउँदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरेका हुन्।
साउँदको पिठ्यूँमा घाउ छ। उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ। चक्कु प्रहार गर्ने मडैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
दुवै जनाबीच मदिरा सेवन गरिरहेका वेलामा झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।