हिलक्विनसम्मको यात्राअनुभुती, ‘अगर तुम साथ हो’
कुरो एक सुन्दर यात्राको हो। यात्रा थियो हिलक्विनका रुपमा परिचित डडेल्धुरा जिल्लाको। गत आइतबार बिहान साढे ६ बजे धनगढीबाट डडेल्धुराका लागि हायस हुइकियो। धनगढीको चौराहमा गाडीमा बसेको के थिए मन मुटुमा छापिन थाल्यो उनको तस्बिर।
साच्चै भन्दा झरीका थोपाजस्तै उनको याद पनि टिलपिल टिलपिल आइरह्यो। जती-जती म पहाडका डाँडाहरुको काखमा पुग्दै गए लाग्यो कि उनको त्यो न्यानो अंगालो नजिक पुग्दै छु।
बाटोमा उभिएर समोसा खाँदा होस् या कुनै रेष्टुरामा मःम खादा। उनीसँग बिताएका हरेक पलहरु छचल्की रहेका थिए। डडेल्धुरा पुग्दासम्म उनको हाँसो, बोली र मलाई सताउने बानीको यादले मनलाई आन्नद महसुस गराइरहेको थियो।
गाडीवाला दाइलाई पनि मेरै मनको कुरा थाहा भए जसरी अरिजित सिंहका ‘अगर तुम साथ हो’, ‘हमारी अधुरी कहानी’, ‘देखा हजारो दफा’ जस्ता हिन्दी गीत बजाउन थाल्नुभयो। गाडीवाला दाईले पनि आफ्नो समयमा लगाएको प्रेमरुपी बिरुवालाई हुर्काउन पाएनन् कि जस्तो लाग्यो।
मानौ मेरो लागि त यो यात्रा एक वर्षको नै भयो। एक वर्षको यात्रा भन्दा अचम्म लाग्न सक्छ। तर एक वर्षमा उनीसंग भएका ती हरेक साक्षात्कारका याद संगितका शव्दहरु जस्तै बगिरहेका थिए।
त्यो सिमसिम झरी र झरीसँगै बगिरहेको खोलाको पानीमा पनि उनकै याद बगिरहेको थियो। मलिन मुहार पनि एकाएक हाँस्न थाल्यो। मनमनै उनीसँग कुरा गर्दै मन्द मुस्कानमा हाँस्दै यात्रा अघि बढिरहेको छ भन्ने अनुभुत भयो।
उनका यादको बारेमा अरुलाई सुनाउन सकिन। ठूला आँखा। मिठो हाँसो। सुनिरहुँ जस्तो लाग्ने बोली। सानो कुरामा धेरै खुसी हुने त्यो मन। र, उनका कयौँ यादहरु मेरो मानसपटलमा कब्जा गरि बसिसकेका थिए। ती यादहरु त्यो दिन झरी बनेर वर्सिरहेका थिए। मलाई त्यो वातावरण पनि उनकै याद आएका कारण रमाइलो लागिरहेको थियो।
तर अब न त उनको त्यो मिठो मुस्कान नै देख्छु न त मलाइ औधी मन पर्ने ठुला-ठुला आखाँ। देख्छु त केवल उनले गरेका ती निम भन्दा तिता म्यासेजहरु। आजसम्म पनि उत्तर पाउन सकेको छैन। किन मायाको गाडीबाट मलाई उतारेर उनले एक सय २० को स्पिडमा रफ्तार लिइन्।
त्यो समयमा उनका यादले रापिएको थिए। मन अशान्त थियो। दैनिकी बेचैनमा बित्दा पनि उनका यादहरुको सागरमा डुबेको पत्तै भएन। अनि आन्नदमय र स्मरणीय रह्यो गृह जिल्ला डडेल्धुराको यात्रा।