धनगढी बसपार्कमा ‘दलाल’को बिगबिगी, ठगिँदै यात्रु
धनगढीः अछामका कपिल खड्का बिहिबार कैलालीको धनगढीबाट साँफेबगर फर्किए। धनगढीबाट साँफेबगरसम्मको बस भाडा एक हजार १२० रुपैयाँ छ। तर, उनले एक हजार ५ सय तिरे। टिकटमा भने एक हजार एक सय मात्रै उल्लेख गरिएको छ। खड्काले भने, ‘काउन्टरमा टिकट छैन भनेर बाहिर पठाए। बाहिर टिकट पाए तर महंगो रहेछ। टिकटमा कम लेखिएको छ। मैले चाँही बढी तिरेको हुँ।’
चाडपर्वका बेला यसैगरी सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरुले ठगिरहेको गुनासो बढेको छ। दसैँका लागि घर जाने यात्रुबाट प्रदेशका यातायात व्यवसायीहरुले तोकिएभन्दा बढी रकम लिइरहेको हुन्।
मनोमानी रुपले यातायातका साधन सञ्चालन गर्दै आएका उनीहरुले शुल्क पनि मनोमानी तवरले लिने गरेका छन्। धनगढी बसपार्कबाट पहाडी जिल्लाको टिकट १६ गतेसम्मका लागि अग्रिम बुक भएको बताउँदै आएका व्यवसायीहरुले बाहिर भने यात्रुबाट बढी रकम लिइरहेको गुनासो छ।
धनगढी बसपार्कमा रहेका काउण्टरहरुमा यातायाका टिकट पाउँदैनन्। यातायात प्रालिका कर्मचारीहरु १६ गतेसम्मका लागि टिकट बुक भएको भन्दै यात्रु फर्काउँछन्। तर खल्तीबाटै प्रालिहरुको नाम नभएका महंगा टिकट काटेर पहाडी जिल्लामा यात्रु पठाउने गरिएको छ। बाजुरा जिल्लासम्मको एक हजार ८ सय भाडा लिइएको छ। त्यहाँका लागि एक हजार २ सयको भाडा तोकिएको भएपनि महंगो रकम लिएको गुनासो बाजुराका एक यात्रुको छ।
सुदूरपश्चिमका यातायात व्यवसायीले क्यूफ्रीमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका छन्। पहाडी जिल्लाबाट फर्किदा यात्रु नपाउँने भन्दै उनीहरुले महंगो भाडा लिने गरेका हुन्।
यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सो विषयमा जानकारी नभएको बताए। ‘हामीले बाहिर टिकट काट्न अनुमति दिएका छैनाै। बाहिर टिकट काटिएको विषयमा जानकारी पनि छैन। बाहिर टिकट काट्नेलाई हामी दलाल भन्छौ। दलाली भएको भए कारबाही गर्छौ,’ उनले भने।
यस्तै काठमाडौंबाट फर्किने यात्रुहरुले समेत धनगढी र महेन्द्रनगरसम्मको भाडा दिनैपर्ने बाध्यता छ। यात्रुुहरु लम्की, अत्तरिया अथवा बाटोमै झर्नु परेपनि उनीहरुले धनगढी र महेन्द्रनगरसम्मको भाडा तिर्दै आएका छन्।