सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विद्युतीय रिक्सा दर्ता गर्ने निकायको टुङ्गो नलाग्दा समस्या

२०७५ फाल्गुन २७, ०७:२३ रोशन भट्ट

कैलाली जिल्लामा विद्युतीय रिक्सा दर्ता गर्ने निकायको टुङ्गो नलाग्दा विद्युतीय रिक्सा कागजपत्र विहिन भएका छन्। विद्युतीय रिक्सा उप–महानगरपालिका वा यातायात व्यवस्था कार्यालय मध्ये कुन निकायमा दर्ता गर्ने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन्। विद्युतीय रिक्साको दर्ता गर्ने निकाय नै नभएपछि सवारी चालक अनुमती पत्र पाउनबाट समेत वञ्चित भएको गुनासो गरिएको छ भने टाफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ। 

विद्युतीय रिक्सा दर्ता गर्ने निकायको टुङ्गो नलाग्दा धनगढी लगायत कैलाली जिल्लामा काजगपत्र विना रिक्सा चलिरहेका छन्। धनगढीमा विद्युतीय रिक्साको चाप दिन प्रतिदिन बढ्दै गएपनि त्यसको व्यवस्थातर्फ सरोकारवाला निकायले ध्यान नदिएपछि चुनौतिी थपिदै गएको छ। एकातिर कागजपत्र विना विद्युतीय रिक्सा धमाधम चलिरहेका छन् भने अर्कोतीर विद्युतीय रिक्सा चालक अनुमति पत्र समेत वितरण गरिएको छैन्। जसका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीले बताए । 

प्रहरीलाई अहिले कुनै पनि विद्युतीय रिक्सा दुर्घटनामा परे वा ठक्कर दिएर फरार भए कागजपत्र नभएका कारण समस्या हुने गरेको छ। विगतमा विद्युतीय रिक्सा यातायात कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान रहेको भएपनि संघिय संरचना पछि स्थानीय तहमा दर्ता गर्ने भनिएको थियो तर धनगढी उपमहानगरपालिकाले त्यसतर्फ ध्यान नदिएपछि विद्युतीय रिक्सा दर्ताको विषय अन्यौलमा रहेको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी  गम्भीरसिंह विष्टले बताए । 

अहिले धनगढीमा विद्युतीयको रिक्साको संख्या वृद्धि हुदै गएको छ तर व्यवस्थापनमा वेवास्ता गरिदा समस्या भईरहेको छ। विद्युतीय रिक्सा आम नगरवासी र विशेष गरी गृहणीहरुले अवातजावातका लागि प्रयोग गर्ने गतिलो सवारी साधन बनेको छ। तर विद्युतीय रिक्साको व्यवस्थापनमा नियमकारी निकाय उदासिन बनेका छन्। धनगढी उपमहानगरपालिकाका आलेप अधिकृत लेखनाथ ओझाले त्यसको वारेमा छलफल भईरहेको बताए । दर्ताको कागज नभएकै कारण यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्साको सवारी चालक अनुमति पत्र समेत नदिने गरेको गुनासो गरिएको छ। धनगढीमा हजारौँको संख्यामा विद्युतीय रिक्सा चलि रहेपनि अहिले एक सय १९ वटाले मात्र सवारी चालक अनुमति पत्र पाएका छन्। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस