बैतडीमा जीप चालक कुटिए, प्रहरी कार्यालयमा उजुरी
धनगढीः बैतडीमा एक जीप चालक कुटिएका छन्। प्रहरीका अनुसार बिहीबार जिल्लाको पाटन नगरपालिका–५ का जीप चालक खेमराज पाण्डेयमाथि कुटपिट भएको हो।
आफूलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए। ‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुग्दै भण्डारीले फोन गर्नुभयो, अरु बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ। जानेवित्तिकै गालीगलौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने। यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको बताएको छ।
कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहीबार नै धनगढी आएका थिए। मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ। यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन्। घटनाका विषयमा उजुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।