ऋण नतिरेपछि बैतडीका अवस्थीका नाममा मुद्दा दायर
बैतडी: बैतडीको सुर्नया गाउँपालिका–६ बगुवाड घर भइ हाल धनगढीमा बस्दै आएका यज्ञराज अवस्थीमाथि चेक अनादर (ब्ल्याङ्क चेक)को मुद्दा दायर गरिएको छ। सुर्नया गाउँपालिका–६ कै रिगाका मानबहादुर कुँवरले खाली चेक दिएको भन्दै उनीमाथि मुद्दा दायर गरेका हुन्।
कुँवरले अवस्थीलाई व्यापार व्यवसाय चलाउन १० लाख ऋण दिएको तर पछि ऋणको पैसा नतिरेको बताउँदै आएका छन्। अवस्थीले कुँवरलाई १० लाखको चेक दिएको तर खातामा पैसा नभएपछि कुँवर समस्यामा परेका हुन्।
उनले अवस्थीविरुद्ध बैतडी जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै विनिमय अधिकार ऐन २०३४ अनुसार हदैसम्मको कारवाही माग गरेका छन्।
यता अवस्थीले कुँवरका दाजुसँग गरेको कुराकानीमा मानबहादुर कुँवरले अपशब्द बोलेको आरोप लगाएका छन्। पैसा तिर्नुछ भन्दैमा अपशब्द बोल्नु ठीक नभएको उनले बताएका छन्।