बेलायती महारानीको ११औ दिनपछि अन्त्येष्टि कार्यक्रम सुरू
काठमाडौंः लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायती महारानी एलिजाबेथ द्वितीयको ११औ दिनमा अन्त्येष्टि कार्यक्रम सुरू गरिएको छ। महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो।
राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरी दिवंगत महारानीप्रति सम्मान गरिएको छ। महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिले देखि नै बेलायत आइपुगेका थिए।
सन् १९६५ मा विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो। अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन आइपुगेका छन्।
महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका छन्।