सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश खेलकुद छनोटः बैतडी भलिबलको सेमिफाइनलमा

२०७९ असोज २, ०३:१८ खबर संवाददाता

धनगढीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ। महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए। तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट सेमिफाइनल पुगेका छन्। यस्तै पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ। पुरुष र महिला ब्याडमिन्टनमा भने बैतडी पराजित भएको छ।  

कबड्डीको पहिलो खेलमा बैतडी दार्चुलासँग पराजित भएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका एक सय ५६ खेलाडी सहभागी छन्। कैलाली र कञ्चनपुरमा जारी प्रदेशस्तरीय छनोट प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुनेछ। नवौँ राष्ट्रिय खेलकुद असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा हुँदैछ। 

कमेन्ट लोड गर्नुस