प्रदेश सरकारको बजेट सक्ने मेसो : ठेक्का सम्झौता भईसकेको सडकमा फेरी बजेट
निर्माणका लागि ठेक्का सम्झौता भएको कैलालीको चौमाला–खैराला सडकमा विभिन्न निकायबाट थप बजेट विनियोजन भएर बजेट सक्ने मेसो भएको छ। स्थानीय सरकार र संघिय सरकारको लगानीमा एक करोड २ लाखमा सडक निर्माणका लागि ठेक्का भईसकेकोमा फेरी विभिन्न निकायले बजेट विनियोजन गर्दै बजेट सक्ने मेसो मिलाएका हुन्। एक करोड २ लाखमा निर्माण गर्न ठेक्का भएको सो सडकमा प्रदेश सरकारले थप ५५ लाख बजेट विनियोजन गर्दै बजेट सक्ने मेसो मिलाएको पाईएको हो।
प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीको पुर्वाधार विकास कार्यक्रमको २५ लाख र भौतिक मन्त्रालयले ३० लाख बजेट विनियोजन गरेपनि अहिले ठेक्का भईसकेको सडकमा थप २ वटा उपभोक्ता समिति गठन भएका छन्। पुर्व मन्त्री दिर्घ सोडारीको निर्देशनमा समिति गठन भएको आरोप लागेको छ। चौमालाबाट चुरे गाउँपालिका वडा नम्बर ४ को कार्यालय सम्म मात्र २६ किलोमिटर सडक रहेकोमा १८ किलोमिटरको ट्रयाक खोल्ने काम सकिएको छ। ट्रयाक खोलिएको सडकमा जीपहरु पनि सञ्चालनमा रहेका छन्।
बाँकी रहेको साढे एक किलोमिटर पनि ट्रयाक खोल्ने काम सकिएको छ। २६ किलोमिटर सडकको अब ६ दशलमव ५ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ। स्थानीय, प्रदेश र केन्द्र सरकारको बजेटलाई जोड्दा चौमाला–खैराला सडकमा साढे ६ किलोमिटर ट्रायक खोल्न एक करोड ६५ लाख बढि रकम विनियोज भएको छ। विकासे अड्डाहरु विच नै समन्वय नहुँदा यस्तो समसया देखिएको स्थानीय चक्र बोगटीले बताए।
यसअघि सडक सफाईका नाममा ७ लाख बढि रकम खर्च गरिएको छ। वडा र गाँउपालिकाले एकै सडक दुई पटक सफाई गराएका थिए। सम्झौता विना सडक सफाई गरिएकोमा ठेकेदारलाई भुक्तानी गर्न समेत गाँउपालिकालाई हम्य–हम्य परेको स्रोतको दावि छ। कार्यकर्ता पोस्नका लागि पटक–पटक सडक सफाईको नाममा रकम कुम्ल्याइएको हो। चौमाला–खैराला सडक निर्माणको १० बर्षमा १८ किलोमिटर मात्र ट्याक खोलिएको छ। राजनीतिक दाउपेचका आधारमा उपभोक्ता समिति गठन हुने र विनियोजन भएको रकम पूर्ण खर्च सडकमा नभएकाले सडकको ट्याक समेत पूर्ण नभएको जनगुनासो छ।