डोटीमा ‘नेता ठेकदार’ भीम साउँदको कम्पनीको लापरबाही, अस्पताल निर्माणको काम भद्रगोल
धनगढीः डोटीको एक गाउँपालिकाले अस्पताल निर्माणका लागि सम्झौता गर्यो। जिल्लाको जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा १५ शय्याको अस्पताल निर्माणका लागि सम्झौता गरिएको थियो। तर, एक वर्ष बितिसक्दा पनि अस्पताल निर्माण कार्य सुरु गरिएको छैन।
भवन निर्माणका लागि गत वर्ष नै सम्झौता भएको थियो। तर, सम्झौता भएपछि थप केही पनि नभएको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज नन्द देउवाले बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा निर्माण हुने भनिएको उक्त अस्पताल भवनका लागि गाउँपालिका र निर्माता कम्पनी राजेन्द्र निर्माण सेवाबीच २०७८ साउन १९ गते सम्झौता भएको थियो। उक्त कम्पनी नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको हो।
सम्झौताअनुसार उक्त कार्य २०८० असार मसान्तमा सम्पन्न भइसक्नुपर्ने हो। सम्झौता भएको एक वर्षसम्म भौतिक प्रगति जम्मा १ प्रतिशत मात्रै भएको गाउँपालिकाले जानकारी दिएको छ। १८ करोड छ लाख ८२ हजार रुपियाँको कुल लागत अनुमान रहेको उक्त भवनमा निर्माता कम्पनीले ११ करोड २१ लाख ५८ हजार ६३९ रुपियाँ अर्थात् लागत अनुमानको ६२ प्रतिशतमै काम सम्पन्न गर्ने कबोल गरेको थियो।
कम्पनीले कामै सुरु नगरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्टले बताए। निर्माता कम्पनीले काम सुरु गर्ने भन्दै गत वर्ष एक करोड ९६ लाख ८० हजार रुपियाँ पेस्की लिएपछि साइटमै नआएको बताइएको छ। अस्पताल निर्माणमा निर्माता कम्पनीले लापरबाही गरिरहेको विषयमा जिल्ला प्रशासन कार्यालय, डोटी र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत जानकारी गराइएको गाउँपालिकाले जानकारी दिएको छ।
यता, राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले भने सडक, बाटोको समस्याका कारण काम सुरु गर्न नसकिएको बताएका छन्। यस्तै उनले दशैलगत्तै काम थालिने दिनेशखबरलाई बताए।