दीपायलमा राजधानी राख्न यतिसम्म गरेका रहेछन् प्रेम आलेले, नसक्नुको कारण के ? (भिडिओ)
धनगढीः सोमबार पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले गृहजिल्ला डोटीमा झुल्किए। डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यासका लागि आले त्यहाँ पुगेका थिए।
सरकारले संसदीय निर्वाचन अन्तरगत मंसिर ४ मा संघ र प्रदेशको एकैपटक चुनाव गर्ने घोषणा गरेका बेला आले गृहजिल्ला केन्द्रित बनेका छन्। आलेले आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुगमन तथा शिलान्यास गरिरहेका छन्। सोमबार (आज) मात्रै उनले ५ करोड बढी बजेटमा बन्ने विमामनस्थलको टर्मिनल भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रमको अवसरमा उनले आफूले मन्त्री हुँदाका बखत गरेका कामको सार्वजनिक गरेका छन्। यस्तै उनले आफूले डोटीको दीपायलमा राजधानी राख्न गर्नुसम्म गरेको दाबी गरेका छन्। उनले आफूले २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा डोटीबाट जित्ने बेला नै दिपायलमा राजधानी भएन भने सांसद पदबाट राजीनामा दिने बताएको दाबी गरेका हुन्। तर, राजीनामा गर्ने भनेपनि नगरेको उनले बताए।
‘राजीनामा दिन्छु भनेर त्यो बेला नै भनेको थिए,’आलेले भने, ‘म अहिले फेरि भन्न चाहान्छु, मैले कुन सन्दर्भमा भनेको थिए भन्दा जब हामी त्यो बेला निर्वाचित भयौं। निर्वाचित भइसकेपछि त्यो बेला हाम्रो पार्टीका अध्यक्ष हुनुहुन्थ्यो कमरेड केपी शर्मा ओली। त्यसबेला नेकपाको बहुमत पनि आएको थियो। र, मैले आफैं गएर बालकोटमा ओलीलाई भेटेर दीपायल भनेको सेन्टर पोइन्ट हो। सुदूरपश्चिमको केन्द्रबिन्दु हो। त्यहीँ राजधानी राख्नुपर्छ भनेर उहाँलाई भनेको थिए’, आलेले थपे, ‘उहाँ (ओली) ले त्यहीँअनुरुप मलाईं हामी सरकारमा गएपछि हामी त्यो गर्नेछौं भनेर वचन पनि दिनुभएको थियो। त्यतिमात्र नभएर तत्कालीन नेकपाका नेता माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत भेटेर राजधानी दीपायलमा राख्नुपर्छ भनेर मैलें भनेको थिए। उहाँहरु पनि सकरात्मक हुनुहुन्थ्यो। तर, दुर्भाग्यवश नेकपाको सरकार नबन्दै अस्थायी राजधानी घोषणा भयो।’
आलेले अस्थायी राजधानी घोषणा गरिएपछि पनि आफूले प्रयास गरेको दाबी गरे। उनले नेताहरुलाई भेटेरै राजधानी सार्न आग्रह गरेको सुनाए। ‘अस्थायी राजधानी घोषणा भइसकेपछि प्रदेश सभाको सपथ ग्रहण भयो,’ उनले भने, ‘हाम्रै यहाँका त्रिलोचन भट्ट मुख्यमन्त्री भइसकेपछि धनगढीबाट अस्थायी राजधानीलाई दीपायल सार्नका लागि कम्तिमा दुई तिहाइ बहुमत सांसदहरु चाहिने अवस्था भएको हुनाले त्यो सम्भव हुन सकेन। तर, म छातीमा हात राखेर भन्न चाहान्छु, त्यो बेला पनि मैलैं भरपुर प्रयास गरेको थिए। नेताहरुलाई मैलें भनेको थिए। तर, त्यो बेला हाम्रो सरकारै नभएर राजधानी पहिले नै तोकियो।’
तत्कालीन नेकपाभित्रबाट निर्वाचित भएका कैलाली-कञ्चनपुरका सांसदहरुले पहाडमा राजधानी ल्याउँनका लागि सहमति नदिएपछि राजधानी गोदावरीमा बनाउने निर्णय भएको उनको जिकिर छ। यसलाई उनले डोटी र डोटेलीको लागि दुर्भाग्य भएको बताएका छन्।
त्यस्तै अहिले धनगढीबाट सरेर गोदावरीमा राजधानी आएको तर, संरचना बन्न नसकेको उनले जनाए। संरचना निर्माणका लागि पनि दलहरुसँग छलफल अगाडि बढाएको उनको दाबी छ। गोदावरीमा वन जँगलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको उनको ठहर छ।
खप्तडको विकासमा पहल गरेको दाबी
यस्तै आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको विकासका लागि आफूले पहल गरेको दाबी गरेका छन्। सुन्दर खप्तडको अवस्था नाजुक रहेको भन्दै खप्तडमा ध्यान केन्द्र बनाउनका लागि बजेट विनियोजन गर्न लगाएको उनले बताए।
त्यतिमात्रै नभएर बडिकेदारका लागि पनि उनले आफू मन्त्री हुँदा ९ करोड बजेट विनियोजन गरेर अहिले त्यसका लागि काम भइरहेको बताए। यस्तै पर्यटन विकासमा टेवा पुगाउन बुडरमा रहेको छहरा झरनाका लागि पनि ८ करोड बजेट विनियोजन गराएको उनले जनाए।
आले अहिले तत्कालीन नेकपामा रहेको एमाले छोडेर माधव नेपालको पार्टी समाजवादीमा रहेका छन्। उनी डोटीबाटै फेरि संघमा चुनाव लड्ने तरखरमा पनि छन्। उनी हालको सरकारको मन्त्रीपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि कनेका थिए। तर, छोटो समयमै उनलाई पार्टीले फिर्ता कोलाएको थियो। त्यसअघि केपी ओलीको मन्त्रीपरिषदमा पनि उनी वन मन्त्री रहेका थिए। २०७४ को आम चुनावमा उनी डोटीबाट निर्वाचित भएका थिए। उनले नेपाली काँग्रेसका हालका प्रदेश सभापनि वीरवहादुर बलायरलाई हराएका थिए।