दार्चुलामा लामो तथा छोटो दूरीका सवारीमा भाडादर लागू
दार्चुलाः दार्चुलामा सवारी भाडादर लागू भएको छ। जिल्लाभित्र लामो तथा छोटो दूरीमा चल्ने यात्रुबाहक सवारीसाधनको नयाँ भाडादर तोकिएको हो। जिल्ला सार्वजनिक यातायात व्यवस्थापन समितिको बिहीबारको बैठकले केही रुटको भाडा बढाएको छ भने केही रुटमा हालको भाडादरभन्दा कमसमेत तय गरेको समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
पक्की सडकमा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा प्रतिकिलोमिटर ८ रुपैयाँ तोकिएको छ। जसअनुसार खलंगाबाट ७ किमि परको धाप पुग्न अब ६० रुपैयाँ तिर्नुपर्ने भएको छ। कच्ची सडकमा चल्ने सवारी प्रयोग गर्दा प्रतिकिमि १५ रुपैयाँभन्दा बढी तिर्नुपर्नेछ । खलंगाबाट दुहु गाउँपालिका–४ चल्यागाडासम्मको १५ किमि यात्रा गर्न अब २५० रुपैयाँ तिर्नुपर्ने भएको छ।
खलंगा–गोकुलेश्वर खण्डमा हाल प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडा लिइँदै आएकोमा अहिले ४५० तय गरिएको समितिले जनाएको छ। खलंगादेखि मार्मा गाउँपालिकाको लटिनाथसम्म प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिइँदै आइएकोमा अब ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
खलंगादेखि अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्मको भाडा १५ सय रुपैयाँबाट घटाएर एक हजार ५० रुपैयाँ कायम गरिएको छ। गोकुलेश्वरदेखि लेकम गाउँपालिकाको रिठाचौपातासम्मको नयाँ भाडादर प्रतिव्यक्ति ३५० रुपैयाँ कायम भएको छ।
समितिका अनुसार खलंगादेखि मालिकार्जुन गाउँपालिका–६ सलेतीको नयाँ भाडा ३५० रुपैयाँ तोकिएको छ। खलंगादेखि नौगाड गााउँपालिकाको दल्लेखसम्म २५० रुपैयाँ, गोकुलेश्वरदेखि धुलिगडासम्म २ सय रुपैयाँ र गोकुलेश्वरदेखि नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडसम्मको गाडीभाडा ३५० रुपैयाँ निर्धारण गरिएको छ।