नेपालको बाढीले भारतमा पनि त्रास : यूपी र बिहारमा उच्च सतर्कता
काठमाडौँ: नेपालमा भीषण बाढीले जनधनको ठुलो क्षति पुर्याएपछि भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तीव्र बनाएका छन्।
नेपालको रसुवा जिल्लामा बुधबार आएको अचानकको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने भारतीय नागरिकहरूसहित कैयौँ मानिस बेपत्ता छन् । बाढीले ठूलो क्षति पुर्याएपछि छिमेकी भारतीय क्षेत्रमा निगरानी र सावधानीका उपायहरू बढाइएको छ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले अवस्थाको निरन्तर अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै मुख्यमन्त्री चौधरीले भने, ‘मुख्यसचिव र प्रहरी महानिरीक्षकले यसको अनुगमन गरिरहेका छन्, म आफैँ पनि बैठक बसिरहेको छु।’