सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा डेंगुको प्रकोप 

२०७९ भदौ १७, १२:०३ रोशन भट्ट

धनगढीः कैलालीको धनगढीमा एकजना डेंगु संक्रमितको मृत्यु भयो। उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको हो। शाहीको उपचारको क्रममा मंगलबार बिहान नै मृत्यु भएपनि बुधबार मात्र डेंगु पुष्टि भएको थियो।

पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ। अहिलेको समयमा डेंगुको संक्रमण देखिने गरेको फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताए। ‘यो रोग चार पटकसम्म लाग्छ। नागरिक आफैले सचेत हुनु राम्रो हो। यसका लक्षण देखिए स्वास्थ्य संस्थामा जान अग्रह गर्छु,’ उनले भने। 

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन भनिएको छ।  संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने चिकित्सकहरुले जनाएका छन्। 

कैलालीसँगै कञ्चनपुर र पहाडी जिल्लामा पनि यसका संक्रमित फेला पर्न थालेका छन्। तर प्रदेशका अन्य जिल्लाका संक्रमितहरुको तथ्याक प्रदेश सरकारसँग छैन। डेंगु रोगका बिरामीहरुमा कडा ज्वरो आउने, ढाड दुख्ने, आँखा रातो हुने जस्ता लक्षण देखिने गरेको छ। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउँन सुझाव चिकित्सकहरुको छ।  

सुदूरपश्चिमका स्वास्थ्य संस्थामा डेंगुका लक्षण भएका विरामीहरु आउने क्रम बढेको छ। प्रदेशमा यसको संक्रमण फैलिने खतरा बढेको छ। त्यसकारण प्रदेश र स्थानीय तहहरुले यसमा विशेष ध्यान दिन आवश्यक छ। लामखुट्टेदेखि संक्रमण फैलिने हुँदा यसमा सजक रहन चिकित्सकले सुझाव दिएका हुन्। सरकारी स्तरबाटसमेत डेंगु नियन्त्रण गर्नका क्षेत्रमा काम भइरहेको दाबी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिस जाशीको छ। ‘हामीले उपचार सहज तथा सचेतना फैलाउने काम गर्दै छौं,’ उनले भने, ‘यसमा आम नागरिकनै सचेत हुन आवश्यक छ।’

यही समयमा प्रत्येक वर्ष डेंगुको संक्रमण देखिने गरेको छ। विषेशगरी घरभित्रै बस्ने लामखुट्टेको टोकाइबाट सर्ने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक छ। घरभित्रै जम्ने पानीमा बस्ने लामखुट्टेले यो रोग सार्ने गरेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस