‘त्रिलोचन सरकार’ले गौराको बिदा हटाएपछि चर्को विरोध
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध भएको छ। प्रदेशभर बिदा नदिइएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सुदूरपश्चिम सरकारको चर्को आलोचना भएको हो।
भदौ १७ गतेको बिदा कटौती गरेको सूचना प्रकाशन भएपछि अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रदेश सरकारको खोइरो खनिरहेका छन्। बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको उनीहरुले बताएका छन्। सरकारले हिन्दू धर्ममाथि नै प्रहार गरेको उनीको बुझाई छ।
प्रदेश सरकारले गौराको अवसरमा दिएको बिदा कटौती गरेपछि अब भदौ १८ गते संघीय सरकारले दिएको बिदा मात्रै कार्यान्वयन हुनेछ। सुदूरपश्चिममा बिरुडापञ्चमीदेखि दुर्वाष्टमी अर्थात अठ्यावाली सम्म गौरा पर्व धुमधामका साथ मनाउने गरिन्छ। तर प्रदेश सरकारले बिदा कटौती गरेको प्रदेशबासीले आलोचना गरेका हुन्। तर, सुदूरपश्चिमका केही स्थानीय तहहरुले भने स्थानीय क्षेत्रमा बिदा दिएका छन्।