डडेल्धुराबाट आठौँ पटक चुनाव लड्दै शेर बहादुर देउवा
डडेलधुराः प्रतिनिधि सभा सदस्यका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठौँ पटक चुनाव लड्ने सम्भावना बढेको छ ।
२०४८ सालदेखि चुनाव जित्दै आएका भएका सभापति देउवा आठौँ पटक त्यहाँबाट चुनाव लड्ने तयारीमा रहेका जिल्लाका नेताहरू बताउछन्। आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सो क्षेत्रबाट कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको एकल नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए।
उनका अनुसार बुधबार बसेको कांग्रेस डडेलधुराको बैठकले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेर सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । डडेलधुरा कांग्रेसका नेतासँग यसअघि नै देउवाले अन्तिम पटक प्रतिनिधि सभा निर्वाचन लड्ने बताइसकेका थिए। देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा डडेलधुराबाटै विजयी भइसकेका छन्। यस्तै समानुपातिकमा नरभान कामी, मानकुमारी थापा, तारक बुढाऐर, वसन्ती भण्डारी र ईश्वरी चन्दको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस गरिएको उनले जानकारी दिए। नरभान कामी २०७० को निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य रहेका थिए। राष्ट्रिय सभा सदस्यमा नाम सिफारिस भएका भीमबहादुर साउद कांग्रेस डडेलधुरा सभापति हुन्। २०७४ को स्थानीय तहको निर्वाचनमा परशुराम नगरपालिकामा उम्मेदवार भएर उनि नगरप्रमुख भइसकेका थिए । यस्तै रघुवर भट्ट कांग्रेस डडेलधुराका पूर्वसभापति हुन्।
उनि तत्कालीन जिल्ला विकास समितिको सभापति पनि थिए भने २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि क्षेत्र ‘क’ बाट उम्मेदवार हुँदा पराजित भएका थिए।