‘प्रदेश राजधानी आकाशमा छ, जसले टिप्न सक्छ उसैको हुन्छ’
डोटीमा गठबन्धन हुँदैन: बलायर
डोटी: नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले प्रदेशको राजधानी गोदावरीमा बन्न नसक्ने बताएका छन्। बुधबार डोटीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
गोदावरीमा रहेको वन फडानी गर्ने अधिकार नभएकाले त्यहाँ प्रदेश राजधानी बन्न नसक्ने उनले बताए। ‘अहिले प्रदेश राजधानी आकाशमा छ। जसले टिप्न सक्छ राजधानी उसैको हुन्छ’ उनले भने। बलजफ्तीले त्यहाँका रुख काटिहालेमा नेपाल अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने स्थिति आउनसक्ने बलायरले बताएका छन्।
यस्तै डोटीमा सत्ता साझेदार गठबन्धन नहुने उनको जिकिर छ। ‘स्थानीय तहको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गरेका थियौँ फेरि त्यसरी नै आउनुस्’, उनले भने, ‘यदि केन्द्रबाटै गठबन्धन लादियो भने हामी जिम्मेवार हुने छैनौँ, सीट र व्यक्तिका लागि गठबन्धन हुँदैन।’ गठबन्धन भएको खण्डमा डोटीबाट प्रतिनिधिसभा तर्फको एक सिट र प्रदेश सभा तर्फका दुवै सिट काँग्रेसले पाउनुपर्ने उनको दाबी छ।
सत्ता साझेदार दलहरुको उद्देश्य नेकपा एमालेलाई हराउने हो भने चुनावी तालमेल पनि त्यस्तै खालको हुनुपर्नेमा उनले जोड दिए। ‘हाम्रो मकसद एमालेलाई हराउने हो भने गठबन्धन पनि हराउने खालको हुनुपर्छ,’ बलायरले भने, ‘हामी गठबन्धन गर्ने अनि एमालेलाई जिताउने हो भने त्यो गठबन्धनको कुनै अर्थ हुँदैन।’