सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘गाँठ’ लिएर तस्करसँग सेटिङ मिलाउँदै प्रहरी र सशस्त्र

२०७९ भदौ १४, ०६:३३ रोशन भट्ट

धनगढीः कैलालीमा भारतबाट हुने चोरी तस्करी बढ्नु कुनै नौलो विषय होइन। २ वर्ष अगाडि मात्रै तस्करसँगको भिडन्तमा २ प्रहरीले ज्यान गुमाएको घटना ताजै छ। उक्त स्थान कैलालीमै पर्छ। त्यसरी सहकर्मी मारिँदा पनि सुरक्षा निकायकै संरक्षणमा तस्करी हुने क्रम नरोकिनुले गैरजिम्मेवारीपन भएको आभास हुन्छ। 

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नै भारतबाट हुने तस्करीको दर्शक बनेको छ। कैलालीका विभिन्न स्थानबाट हुने तस्करी नियन्त्रण गर्न असफल भएको सशस्त्र प्रहरी धनगढीमा भने तस्करसँगै सेटिङ मिलाएर बसेको छ। धनगढी बङग्रकटान क्षेत्रबाट रातिको समयमा दैनिकजसो तस्करी हुने गरेका छ। सोही ठाउँमा सशस्त्र प्रहरीको बेस क्याम्प भएपनि उनीहरुले चासो नदिएको दाबी समाचार स्रोतको छ। सशस्त्र प्रहरी स्रोतले भन्यो– ‘तस्करीमा सक्रिया समूहसँग नेतृत्वले सेटिङ मिलाएको छ। तस्करले मासिक ५ लाखभन्दा बढी बुझाउने गरेका छन्।’

तर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह भने यो स्वीकार गर्न तयार छैनन्। ‘हामीले तस्कर नियन्त्रणको काम सुस्त गतिमा भएपनि गरिरहेका छौं। पहिले र अहिलेको अनुपात हेर्नु न’ उनले भने। 

विशेषगरी धनगढीका तीन स्थानबाट तस्करको समूहले अवैध सामान नेपाल भित्र्याउने गरेका छन्। ब्ङ्ग्राकटान, गौरी कटान र कारागार पछाडिबाट तस्करी भइरहेको स्रोत बताउँछ। ‘कटान क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिती रहने गरेका छ भने जिल्ला कारागार पछाडि शान्तीनगरमा जनपद प्रहरीको ड्युटी हुन्छ’ स्रोतले भन्यो।

सीमा सुरक्षा तथा तस्करी नियन्त्रणकै लागि ड्युटीमा खटिने प्रहरीले तस्कर समात्न भने ध्यान दिन सकेका छैनन्। उल्टै चार जना ‘गुप्ता’ थर भएका तथा एक जना ‘शर्मा’ थर भएका तस्करसँग सेटिङ मिलाएर आर्थिक लाभ लिने गरेको भनाइ समाचार स्रोतको छ। सशस्त्र प्रहरी नेतृत्वले तस्करबाट मासिक लाखौं रकम बुझेर अपराधलाई बढवा दिएको देखिन्छ। तर सशस्त्रका एसपी सिंह भने कसैसँग आर्थिक लेनदेन नभएको दाबी गर्छन्। उनले भन्छन्, ‘नयाँ चिप साप आइसकेपछि आर्थिक लेनदेन कसैसँग गरेका छैनौं है। सरको आदेश त हामीले मान्नुपर्‍यो नि।’ 

गौरीकटान क्षेत्रबाट नेपाल भित्रिने सामान सोही ठाउँका ‘विष्ट’ थर भएका स्थानीयको घरमा जम्मा हुने गरेको छ। त्यहाँबाट रातिको समयमा तस्करीको चिनी, हार्डवयरका सामान तथा मोबाइल पार्टस् लगायत अन्य सामान विभिन्न ठाउँमा पुग्ने गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट झण्डै ५० मिटर पूर्वमा पनि एक जना ‘गुप्ता’ थरका तस्करले गोदाम नै राखेका छन्। त्यसको जानकारी कैलाली प्रहरी नेतृत्वलाई पनि छ। तर, तस्करसँगको मिलेमतोका कारण तस्करी भइरहेको देख्दा पनि प्रहरीका आँखा बन्द हुने गरेका छन्। त्यसबाफत तस्करले जिल्ला प्रहरी, सशस्त्र प्रहरी, क्षेत्रिय अनुसन्धान ब्यूरोसँगै डिआइजीसम्मलाई मासिक लाखौं रकम बुझाउने गरेको दाबी समाचार स्रोतको छ। ‘तस्करले जनपद र सशस्त्रलाई तस्करले महिनामा ७÷७ लाख रकम बुझाउने गरेका छन्। त्यो पैसा आरआइटीदेखि डिआइजीसम्म पुग्छ,’ स्रोतले भन्यो। 

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यले भने तस्करीमा प्रहरीको सेटिङ भन्ने विषयमा छानविन हुने बताए। जिल्लाबाट पैसा उठाउने अनि त्यो पैसा त डिआइजीसम्म पुग्छ भन्ने पनि छ भन्ने दिनेशखबरको प्रश्नमा डिआइजी आचार्यले भने, ‘त्यस्ता अरे भन्ने कुरा त नगरिबक्सियोस् न।’

भदौ ८ गते राति समातिएको ९ क्विन्टल चिनी रातारात गायब हुनुले पनि प्रहरी र तस्करबीच सेटिङ हुने गरेको विषय पुष्टि हुन्छ। यो त केवल उदाहरण मात्रै हो। तस्करीका सामान बरामद गर्दा समेत कुनै व्यक्ति पक्राउ नपर्नाले प्रहरीले गरिरहेको बदमासीबारे जो कोहीले अनुमान लगाउन सक्छन्। 

‘सत्य सेवा सुरक्षणम’ नेपाल प्रहरीको मूल आदर्श हो। यी तीन शब्दको शाब्दिक अर्थले नै प्रहरीको महत्व र गरिमा दर्शाउँछ। ‘सत्य सेवा सुरक्षणम’को अर्थ हुन्छ– सधैँ सत्यको पक्ष लेऊ, सधैँ सेवा गर र सत्यका पक्षधरहरुको सुरक्षा गर। तर, दुर्भाग्य  कैलालीमा जनपद र सशस्त्र प्रहरीसँग सेटिङ मिलाएर भारतबाट तस्करी गर्ने समूह नै सक्रिय भएको पाइएको छ।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस