दार्चुलाका स्थानीय तहमा ७७ करोड बेरुजु
दार्चुलाः दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। सबै स्थानीय तहहरूको आर्थिक वर्ष २०७७/७८ सम्मको बेरुजु रकम झन्डै ७७ करोड हाराहारी पुग्दै छ। महालेखा परीक्षकको पछिल्लो ५९ औं प्रतिवेदनले जिल्लाका ९ ओटा स्थानीय तहको बेरुजु रकम ७६ करोड ८१ लाख ८४ हजार पुगेको उल्लेख गरेको छ। सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा २९ करोड १२ लाख ९ हजार बेरुजु रहेको छ। यस्तै, मालिकार्जुन गाउँपालिकामा २३ करोड ४४ लाख ५६ हजार, महाकाली नगरपालिकामा १४ करोड ७ लाख २६ हजार बेरुजु छ।
व्यास गाउँपालिकामा ९ करोड ३४ लाख ४२ हजार, मार्मा गाउँपालिकामा ९ करोड १५ लाख ७४ हजार, लेकम गाउँपालिकामा ९ करोड १० लाख ६६ हजार, अपिहिमाल गाउँपालिकामा ४ करोड ८५ लाख ८२ हजार, दुहु गाउँपालिकामा ४ करोड ३८ लाख ३८ हजार र नौगाड गाउँपालिकामा २ करोड ४५ लाख ६३ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनले जनाएको छ।
महालेखा परीक्षकको प्रतिवेदनमा स्थानीय तहहरूमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, वितरणमुखी योजनाहरू सञ्चालन गरेको, आर्थिक अनुशासन नभएको लगायतका टिप्पणी उल्लेख गरिएका छन्। महालेखाको प्रतिवेदनले जिल्लाका ९ वटै स्थानीय तहबाट देखिएको बेरुजुमध्ये झन्डै एक करोड ८ लाख असुल गर्नुपर्ने रकम पुगेको छ। महालेखाको प्रतिवेदनका अनुसार यहाँका पालिकाहरूबाट आर्थिक वर्ष २०७७/७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम एक करोड ७ लाख ९५ हजार पुगेको छ।
महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु छ। सबैभन्दा कम नौगाड गाउँपालिकामा ११ हजार बेरुजु रकम छ। मालिकार्जुन गाउँपालिकामा १८ लाख ३२ हजार, शैल्यशिखर नगरपालिकामा १७ लाख ३६ हजार, व्यास गाउँपालिकामा १७ लाख ६ हजार र महाकाली नगरपालिकामा ५ लाख ८९ हजार असुल गर्नुपर्ने बेरुजु छ। मार्मा गाउँपालिकामा ४ लाख ७५ हजार, दुहु गाउँपालिकामा ४ लाख ३३ हजार र अपिहिमाल गाउँपालिकामा दुई लाख ३२ हजार बेरुजु रकम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।