मदिराले घटाएको अछाम घटना, बन्चरो हानेर ३ सन्तानकी आमाको हत्या
हत्या आरोपमा श्रीमान समातिए
धनगढीः अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका लोग्ने पदम कामी (पैलु) समातिएका हुन्।
यही साउन ११ गतेको रात हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई बुधबार प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी हत्या गरेर राति नै जंगलको बाटो भएर कालिकोट गएका थिए। त्यसपछि त्यहाँबाट जुम्ला, नेपालगञ्ज र कैलाली हुँदै महेन्द्रनगर पुगेका थिए। तर, प्रहरीले सबै जिल्लाका प्रहरीलाई उनी फरार रहेकोबारे सूचना पठाएको थियो। उनी भारततर्फ भाग्न महेन्द्रनगर पुगेको प्रहरीले बताएको छ।
महेन्द्रनगर पुगेका उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीले पदमलाई पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी डाँगीले बताए।
मदिराले घटायो घटना
श्रीमान (पदम) ले जहिल्यै मदिरा सेवन गर्ने गरेको र आफ्नी श्रीमती (मन्नु) लाई दुःख दिने गरेको प्रारम्भिक अनुसन्धानबाट अछाम प्रहरीले बताएको छ। ‘(पदम) जहिल्यै मदिरा सेवन गर्ने रहेछन्। हत्या भएको रात पनि उनले मदिरा सेवन गरेका रहेछन्’, अछाम प्रहरीका प्रमुख तथा डीएसपी नारायण डाँगीले दिनेशखबरसँग भने, ‘लोग्ने–स्वास्नीबीच धेरै कुरामा झगडा हुने रहेछ। लोग्नेले मृतक मन्नुमाथि महिला हिंसा गरेको कुरा पनि खुलेको छ। अहिलेसम्म हत्याको कारण यही नै देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौँ।’
मन्नु र उनका लोग्ने पदम गाउँको एकान्तबस्ती (खर्क) मा बस्थे। उनीहरूसँगै अन्दाजी १५ वर्षीया एक छोरी र १२ वर्षीय एक छोरा पनि बस्थे। उनीहरूकी जेठी छोरीको भने विवाह भइसकेको प्रहरीले जनाएको छ। आमाको हत्यापछि उनीहरू बिचल्लीमा परेका छन्।