सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २ हजार ८०८ नयाँ मतदाता थपिए

२०७९ साउन २३, ११:२६

बैतडी: बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन्। गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन्।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो। जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय एक हजार आठ सय २९, जिल्ला निर्वाचन कार्यालय दुई सय ९० र इलाका प्रशासन कार्यालय हाटमा छ सय ८९ नयाँ मतदाता थपिएका हुन्।

यसका साथै आठ बाहिरका मतदाताले पनि नाम दर्ता गराएका छन्। योसँगै जिल्लामा मतदाताको सङ्ख्या एक लाख ५१ हजार चार सय १४ पुगेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार छ सय छ मतदाता रहेका थिए। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन्।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए। सरकारले मङ्सिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

कमेन्ट लोड गर्नुस