डोटीको केआइसिंहले १० लाखमा खरिद गरेकाे सोलार सेट थन्किए
धनगढीः डोटीको केआइसिंह गाउँपालिकाले खरिद गरेको सोलार सेट थन्किएका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा जडान गर्नेगरि खरिद गरिएका सोलार सेट गाउँपालिकाको कार्यालयमै थन्किएका हुन्। गाउँपालिकाले आफ्नो कार्यालय तथा वडा कार्यालयमा जडान गर्नेगरि १० लाख बजेट खर्च गरेर सोलार सेट खरिद गरेको थियो।
गाउँपालिकालाई सुर्योदय सोलार एण्ड ट्रेडर्स धनगढीले उक्त सोलार सेट उपलब्ध गराएको हो। सोलार उपलब्ध गराउने सुर्योदयले ९ लाख बढी भुक्तानीसमेत पाइसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज उपाध्यायले बताए। ‘सोलार सेट आइसकेका छन्। जडान गर्न बाँकी छ। अब यो महिनाभित्रै जडान हुन्छ,’ उनले भने।
संघीय सरकारबाट प्राप्त सशर्त अनुदानमार्फत उक्त सोलार खरिद गरिएको थियो। गएको आर्थिक वर्षमा कार्यान्वयन हुनुपर्ने योजना अलपत्र परेको भन्दै विरोध हुन थालेको छ। बजेट भुक्तानी हुँदा पनि सोलार जडान गर्नतर्फ गाउँपालिकाको ध्यान जान नसकेको स्थानीयको आरोप छ।