सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति पसेको देखिएन: संसदीय छानबिन समितिको निष्कर्ष

२०७९ साउन १३, ०४:०२ खबर संवाददाता

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै विवादमा परेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन पेश गरेको छ।

सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको संसदीय विशेष समितिले शुक्रबार दोस्रो पटक बसेको बैठकमा पेश गरेको प्रतिवेदनमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख छ। समितिको प्रतिवेदनमा भनिएको छ–‘करका दर हेरफेरमा अनधिकृत ब्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन।’

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपको छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।

समितिलाई सुरुमा १० दिनको समयावधि दिइएको थियो। समय अपुग भएको भनी ५ साउनमा सात दिन समय थप भएको थियो।  १७ दिनको कार्यावधिमा २३ वटा बैठक बसी ७५ घण्टा समय व्यतित गरेर समितिले प्रतिवेदन पेस गरेको हो ।

कमेन्ट लोड गर्नुस