यातायात व्यवस्था कार्यालय डडेल्धुराद्वारा ३ करोड बढी राजस्व संकलन
हरिश चन्द, डडेल्धुरा: यातायात व्यवस्था कार्यालय डडेल्धुराले गत आर्थिक वर्षमा ३ करोड १२ लाख ६७ हजार १०५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यातायात सेवा कार्यालयबाट व्यवस्था कार्यालय बनेपछि राजस्व सङ्कलनमा वृद्धि भएको हो।
सवारीसाधन करतर्फ दुई करोड ५१ लाख ८५ हजार ५१७ र व्यवसाय दर्ता दस्तुरबाट ९४ हजार ५०० सय सङ्कलन भएको छ। यस्तै चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ४१ लाख १४ हजार ६५० र यातायात क्षेत्रको आम्दानीबाट १७ लाख ९२ हजार दुई सय १० सङ्कलन गरेको कार्यालयका प्रमुख मेखराज उपाध्यायले जानकारी दिए।
उनका अनुसार कार्यालयले सवारी दर्ता किताब र नविकरण लगायतबाट समेत राजस्व सङ्कलन भएको छ। यातायात सम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ।
अब डडेल्धुराबाट नै चालक अनुमतिपत्र वितरण सुरु हुने भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका प्रमुख उपाध्यायले बताए। उनका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि डडेल्धुरासहित बैतडी, दार्चुला र बझाङ लगायतका जिल्लाबाट सेवाग्राही आउन थालेका छन्।