सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पार्किङ गरिएका गाडीका ब्याट्री समेत चोरी 

२०७९ साउन ११, ११:४१ कमल सावद

धनगढीः श्रावण १ गते राति धनगढीमा तीन गाडीका चार ब्याट्री चोरी भए। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा पार्किङ गरिएका गाडीका ब्याट्री चोरी भएका हुन्। रिक्सामा सवार दुई जनाले गाडीका ब्याट्री चोरेर फरार भएका हुन्। ब्याट्री चोरीको भिडिओ सीसीटीभी रेकर्डमा देखाइएको छ।

पीडितले प्रहरीमा सीसीटीभीको भिडिओसहित निवेदन दिएका छन्। तर चोरी भएको १० दिनसम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। पीडित धर्मानन्द पाण्डेले वडा प्रहरीमा निवेदन दिएको बताए। उनले प्रहरीलाई सीसीटीभी भिडिओ पनि दिएको बताए।

पदमराज भट्टको से १ ख ६३७ नम्बरको ट्रकको एक ब्याट्री, धर्मानन्द पाण्डेको सु.प १२३५ ट्रकको एक ब्याट्री र राजेश कठरियाको सु.प्र ००१ ख २२०१ को टिपरको २ ब्याट्री चोरी भएका हुन्। झन्डै ८० हजार मूल्य बराबरका गाडीका ब्याट्री चोरी भएको पीडित पदमराज भट्टले बताए। रातिको समयमा प्रहरीको निगरानी कम भएकाले चोरीका घटना धनगढीमा एकपछि अर्को बढ्दै गएको उनले गुनासो गरे। ‘बजार क्षेत्रमा चौकीदार छन्, तर भित्रि क्षेत्रमा छैनन्। यता प्रहरीको निगरानी पनि भएको देखिँदैन। रातिको समयमा प्रहरी देखेका छैनौँ,’ उनले भने। 

गत जेठ २६ गते राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेट नजिक पाँच पसलमा चोरी भयो।  भट्ट होटल एण्ड फास्ट फुडमा चोरी भयो। चेतराज भट्टले सञ्चालन गर्दै आएको होटलबाट २८ हजार नगदसहित सामान, अनिल गुरुङले सञ्चालन गरेको स्टिकर पसलबाट ५० हजार, हिरासिँह साउँदले सञ्चालन गरेको रिलायन्स स्टिकरबाट १० हजार र अन्य पसलबाट सामान चोरी भएको थियो। चोरी भएको झन्डै दुई महिना हुँदैछ। तर चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी अझै सफल हुन सकेको छैन।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार दुवै घटनामा संलग्नहरुको खोजी जारी छ। तर प्रहरीले सीसीटीभी भिडिओबाट पनि उनीहरुको पहिचान गर्न सकेको छैन। धनगढी-१२ जुगेडा क्षेत्रमा पनि चोरी हुँदै आएको छ। पानी तान्ने मोटर, फ्रिज लगाएतका सामान चोरी हुँदै आएका हुन्। रातिको समयमा प्रहरी निगरानी घट्दै गएपछि चोरीका घटनामा वृद्धि हुँदै गएको हो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस