सोसल मिडियाका सेलिब्रेटी वास्तवमा ‘हिपोक्रेट’
-एलिजा भारती
‘ठुलो मात्रै होऔं न ! यस्तो बुद्धि भएको, केही नआउने मान्छे त हुँदै हुँदैन’ भन्ने हामी, के साँच्चै त्यतिबेला सम्झेको ठुलो मान्छे भयौ त ?
सम्झिनुस त कुनैदिन स्कुल अथवा कलेजमा पढ्दा वादविवाद र वक्तृत्वकला प्रतियोगितामा गज्जबले तरर ताली पड्कने गरि बोलेर प्रतियोगिता जितेर पुरूस्कार पाउँदा त्यो बोलेको कुरा नै उतार्दै आउनुभएको छ ? कि ठुलो भएपछि तपाईं पनि त्यस्तै ठुलो मान्छे हुनुभयो जसको वुद्धि नै हराएर घाँस चर्न गइदिएको थियो।
आफु हुर्किदै गर्दा ठुला मान्छेको गुनासो गरिरह्यौ। अन्तत: थाहै नपाई आफूपनि ठयाक्कै त्यस्तै ठुला मान्छे बन्न पुगेका छौं। पहिले आफूभन्दा ठुलाले के–के बेठिक गरेको भन्दै कराउँदै आउँदा अहिले आफैले ठिक त्यहि नै दोहोर्याएर हिँड्दै कति सम्म ‘हिपोक्रेट’ भयौं।
अझ पढ़ेको जमात को छौं। प्लास् टू, स्नातक वा स्नाताकोतर पास गरेको नै छौ। र त सोसल मिडियाभरी बुद्धिजिवी, विद्वानको ट्याग भएका मेरो फेसबुकमा यति फ्लोअर्स, टिकटकमा यति, इनस्टा भन्दै आफूलाई आफै सेलीब्रेटी ठान्ने यस पुस्ताका हामी के साँच्चै महान छौं ? आउदो पुस्ताका लागि उदाहरणीय हुन सक्नेछौ ?
के–के सिकिरहेका छांै हामीहरुले जुन भविष्यमा आउँदो पिँढीलाई सिकाउने छौ। यहि कुरा हैन एउटाले गरेको कामको पुष्टी गर्दै अर्कोलाई नराम्रो देखाएर आफु राम्रो हुन खोज्ने, अरुको कमीकमजोरी मात्र देख्ने र सोसल मिडियामा भाइरल हुने। दुइचार दिन सबैतिर छाउने। जसरी होस् भाइरल हुनुपर्छ भन्ने पुस्ता हैन हाम्रो !
अझ ट्रोल कन्टेन्ट, मीम बनाउँदै दुइचार दिनको मसला बनाउछौं र बेरोजगारीका दिनचर्या कटाउन्छौ। यहि हैन हाम्रो उपलब्धी ? फेसबुकको पहिरन र कमेन्टले नै पुरा बायोग्राफी पत्ता लगाइदिने अनुसन्धानकर्ता हामी कति ट्यालेन्ट छौ है। कुनै कुरा हामीले देखिरहेको भन्दा अलि फरक भयो भने अचम्म लाग्नु स्वभाविक हो। अकस्मात नयाँ चलन, कुरा देख्दा अप्ठेरो लाग्यो भन्नुको मतलब तपाई खराब होइन, मान्छे हो। अचम्म मान्दैमा पाप लाग्दैन। तर त्यहि कुरा खिसिट्युरीमा बदलेर अरुलाई असभ्य भाषा प्रयोग गर्नुहुन्छ भने के तपाई आफुलाई सभ्य मान्नुहुन्छ ?
नयाँ चलन अपनाउन समय लाग्छ। मनमनै बहिष्कार गर्न पाइन्छ तर आफुलाई नयाँ लाग्यो भन्दै सबै नराम्रो हुने र धिकार्नु पर्ने हो त के त्यहि हो बुद्धिजीवी विद्वता ? हुन त सोसल मिडियाले यो सब थाहा पाउँदैन। थाहा पाओस पनि कसरी, उ त सबको अगाडि राम्रो मात्र बन्न चाहन्छ। उसलाई छुच्चो हुन मन छैन। जो बोल्छ, त्यहि पक्षको कुरा मानिन्छ। उखान छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन। त्यसैले जो बोल्छ उसको पक्षमा फैसला भइसक्छ। फैसला गर्नुअघि दुवै पक्षको कुरा सुन्ने फुर्सद नै छैन।
सोसल मिडियामा सेलिब्रेटी जो बन्नुछ। अगाडि हुनुछ। नपढी नै सेयर, कमेन्ट गर्न हतार जो छ। को केहो बुझनु छैन बस अन्धभक्त जो हुनुछ हामीलाई। अर्को पक्ष बोल्दैन उसको पहुँच छैन भन्दैमा उ दोषी नै हुन्छ भन्ने छैन। के सबै कुरा सबका अगाडी भन्न सकिने हुन्छ ? के काटेका सबै घाउलाई शब्दमा उतार्न सकिन्छ ?
जब कसैले सुन्दैन, सुन्न छाडीदिन्छन बिस्तारै घरदेखि, पाहुना आफन्तदेखि तर्कने भएपनि फेसबुक र टिकटकको आड लिएर जानीनजानी भए पनि बोल्न थाल्छौ। कस्तो सुनिएला भन्ने धक नमानी।
फेरि त्यहाँ आजकल राम्रोभन्दा विकृति फैलाउने बढी भएर साच्चिकै भन्न खोजेकालाई पनि खिसी गर्दै हास्न सकिने मीम बनाउँछौं। कन्टेन्ट के थियो, के विषयबस्तु उठाउन खोजियो भन्दा पनि मान्छेको हाउभाउ के कसरी प्रस्तुत गर्यो, के गर्छ भन्दै कमीकमजोरी खोजेर कसरी गिराउनु छ, त्यो होडबाजी चल्छ।
त्यसले गर्दा कति अनुहारले आफुलाई डिप्रेसनभित्र लुकाएका छन् होला। कति अनुहार चिहान भित्र लुके होलान् अत्तोपत्तो छैन। बस हामीलाई मजाक र गिजाउन मात्रै हतार भइहाल्छ।
हुन त यस्ता कुरा बारबार आइरहन्छन् र चर्चा पाएर सेलाउन्छन्। तर कतिपय कुराले हामीलाई सहज पनि बनाएको छ। आजको युग डिजिटल युग हो र यसले अहम भूमिका पनि खेल्याे। जसरी ८ वर्षपछि एक किशोरीलाई न्याय दिलाउने काम गर्यो। तर हजारौ यस्तै केशलाई छुन नसकेको पनि छ।
सोसल मिडीया आफैमा नराम्रो त हैन। आफ्नो जीवन कस्तो बनाउने आफ्नै हातमा हुन्छ, राम्रो बन्छ भने त्यसमा कुनै शंका छैन। तर आजकल यसको सदुपयोगभन्दा विभिन्न विकृतिहरु भित्राउने काम बढी भइरहेका छन्। भाइरल हुने नाममा र एकअर्काको कुरा काट्ने, गिराउने काममा सदनदेखि साधारण हामी सबै यसको भागिदार छौं।
सदन मै कहिले अंग्रेजी पढन नजान्ने, अझ सरले के पढ़ाएछ भन्दै चर्चा गर्यौं। अनि अब अर्कोलाई नेपाली पनि बोल्न आएन भनेर त्यसमा लाग्छौ। त्यहाँ कुन विषय उठान गरिएको छ ध्यान गएन। तर, भाषा के भनेर टिकाटिप्पणी गर्न हतार भयो। हो तयारी गरेर अनि कहाँ कसरी बोल्नुपर्छ भनेर सिकेर आउनु त पर्थ्यो तर के हामीले गर्ने व्यवहार त्यही हो ?
त्यहाँ उठान गरिएका विषयबस्तुको सट्टा एक अर्कालाई दोष दिन र चरित्रहत्या गर्न तछाडमछाड पो हुन्छ। कहिले कोही सेलीब्रेटीको पहिरन लिएर त कहिले प्रयोग भएका शब्दको क्लिपको मतलब निकालेर। के अरुलाई भन्नुपूर्व आफ्नो अनि आफ्नाको बारेमा बिचार गर्नुभएको छ ? के सबै मान्छे पूर्ण नै हुन्छन् ? अनि के हामीबाट कहिले गल्ती र कमीकमजोरी नै हुँदैन ?
अनि अझ हामी ट्रोल, मीम बनाउने, सेयर गर्ने कोही अपराधीको बर्गमा पर्दैनौं। हामीहरु कोहीलाई आफूले गलत गरे नै लाग्दैन। गलत सहिको प्रश्न नै उठदैन भन्ने लाग्छ। अनि फेरि लाग्छ होला मैले बनाएको होर, त्यस्तो गर्नेलाइ लाज छैन मलाई के ? म झुक्दिन।
हुन् त जोक बनाउँदा कुभलो चिताएर बनाएको कहाँ हो र एकछिन रमाइलो गर्न बनाएको पो हो। तर के साँच्चै त्यही हुन्छ त त्यहाँ ? हैन म गर्दिन भन्ने हामी अरुलाई छिछि भन्ने किन ? त्यहिलाइ बढावा दिइरहेका हुन्छौ त हेरेर। ओइ हेर आजको मसला कसले के भन्यो भन्दै बेस्ट फ्रेनदेखि कहाँकहाँ पुगाएर भाइरल गराउने हामी हैन ? राम्रोभन्दा नराम्रोमा झन् बढावा दिएर हामी कतातिर गइरहेका छौं ? कहिले सोच्यौ ?
अझ उल्टै ‘त्यसमा मेरो के दोष, मैले भनेको हैन, मैले बनाको हैन भिडियो, म एउटाले नहेरेर केही हुँदैन, रुचि त हैन तर साथीले भन्यो हेर्दिम न भनेर मजाक गरेको’ भन्दाभन्दै हैन त्यो बजारभरी छ्यापछ्याप्ती भएको। के हामी आफैबाट सुरुवात गर्दा हामी भएर यसको न्यूनिकरण हुन्थेन र ?
के कहिले सोच्यौ हामीले बाहिर अरुले हाहाहा गर्दा भित्र त्यो मान्छेको मन कुडिएको पनि हुन्सक्छ भनेर ? त्यो ठाउँमा हामीले कहिले आफुले आफुलाई राखेर सोच्यौ ? मन त एउटै हैन र सबै मान्छेको ? जब हामीलाई सोच्दा मात्र कहाली लाग्छ भने त्यो आइपर्नेले कसरी पचाउँछ ?
ल उसको साथमा खुब साथ दिने मान्छे हुनसक्छ। पुरै परिवारले केही छैन मतलब नगर पनि भन्नसक्छ तर अलिकति त मतलब भइहाल्छ नि मान्छे भएपछि, मान्छेको मन न हो।
सधै एकनास के नै भइराख्छ र प्रकृतिको नियम नै हो बदल्ने त्यहि भएर आज हामी जे सोच्छौ त्यो सहि हुने। भोलि सहि हुन सक्छ भने हिजो जुन कुराको लागि कसैलाई डिप्रेसनमा पुप्याइयो आज त्यो आफैलाइ पनि पर्न सक्छ वा त्यो आफैलाई मन नपर्न सक्छ।
होला कुनै कुरा तपाईंलाई सामान्य लाग्ने र मजाक लाग्ने। तर कसैको लागि त्यही कुरा आँखाको नानीमा जुटको बोराले रगडे जस्तो लाग्ने पनि त हुनसक्छ। के कहिले मनन गरेनौं हामीहरुले कि म यो छेउबाट अर्को छेउमा नि पुग्नपर्छ भनेर।
अब हामी यस्तै भयौं भने हाम्रो आउँदो पुस्ता हामीबाट के सिक्छ ? त्यहि भएर अब हामी सुनौ, सबथोक सुनौ तर गलत गरिएकाहरुको लागि उनीहरुप्रति पूर्वाग्रही नबनौं। खुला विचार बोकेर गलत गर्नेलाई पनि एक आखर सुनौं र सुनाऊ।
आफैमा सहिभन्दा त्यो सहि सुन्दर बनाउ जो गलतबाट पनि सुधार्न सक्छौ। सहि र गलतको बीचमा पिल्सिएर हामी मान्छे बन्न नबिर्सौ। भाइरल हुने नाममा मानवता नै नबिर्सौ। हाम्रा वरपर न गल्ती सुनिदिने कान छन् न त सुध्रिने मौका दिने मन। यसो हुँदा समस्याको रुखको हाँगा त काटिएला तर जरा जहाँको त्यही हुन्छ। त्यहिभएर अरु हैन आफैबाट गल्ती भएपनी सुनेर बुझिदिने र सुधार्नेतर्फ लागौं। आफैलाई सोधौं एकछिन कसैको खिल्ली उडाउदा अर्काको जिन्दगीमा जे गुम्छ। के त्यो म जिन्दगीभर कमाए पनि तिर्न सक्छु भनेर। अनि मनन गर्दा आफै उत्तर पाउनेछौं।
आउने पिँढीले सौन्दर्यको कुरा गर्दा त्यो त बस् बाहिरी चमकधमक अज्ञान ढाक्ने भ्रम हो भन्न नपरोस। कसैले मन शान्तिको कुरा गर्दा त्यो प्रवचन ढोंङ्ग जस्तो नलागोस। आफुले गरेका कामले भविष्यमा ‘नोस्टाल्जिक’ हुन पाइयोस् न कि पश्चाताप हुनु परोस्। जस्तो आजकल कसैलाई पनि सोसलमिडियामा र वास्तविक जीवनमा धेरै फरक लाग्छ। आउने दिनमा आउने पिँढीलाई सोसल मिडिया खुबसुरत धोका नलागोस्।