कैलालीमा बढे सम्बन्धविच्छेद गर्ने, लागुऔषधका मुद्दाको संख्या डरलाग्दो
धनगढीः जिल्ला अदालत कैलालीमा चालु आर्थिक वर्षमा २ हजार ७५ मुद्दा दर्ता भएका छन्। अदालतमा एक हजार १३ मुद्दा सरेर आएका छन्। तीन हजार ८८ मुद्दा जिल्ला अदालत कैलालीमा रहेकोमा एक हजार ६ सय ६४ मुद्दाको फछर्यौट भएका छन् भने एक हजार चार सय २४ मुद्दा फस्र्यौट हुन बाँकी छन्।
नयाँ दर्ता भएका मुद्दाहरुमा ९ सय २ मुद्दा मात्र फछर्यौट भएका छन् भने एक हजार एक सय ७३ मुद्दा रहेका जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए। उनले भने, ‘हामीले लक्ष्य अनुसारको मुद्दा फछर्यौट गर्न सकेका छैनौ। निर्वाचनका कारण पनि केही ढिलो भएको हो।’
जिल्ला अदालत कैलालीमा दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी सम्बन्धविच्छेदका छन्। जिल्लामा ५ सय ५० मुद्दा सम्बन्धविच्छेदका रहेका छन। ती मध्ये एक सय ६९ मुद्दाहरु फछर्यौट भएका छन् भने ३ सय ८१ मुद्दा बाँकी रहेका छन्। वैदेशिक रोजगार, लागूऔषध तथा मादकपदार्थ सेवनका कारण सम्बन्धविच्छेदका मुद्दाहरुको संख्या कैलालीमा बढेका हुन्। जिल्ला न्यायाधीश पनेरुले भने, ‘वैदेशिक रोजगारी प्रमुख कारण देखिन्छ। मादकपदार्थ सेवनका कारण पनि सम्बन्धविच्छेद हुने गरेका छन्।’
कैलालीमा लागुऔषधका मुद्दाहरुको संख्या पनि डरलाग्दो छ। जिल्लामा एक सय २९ मुद्दा लागुऔषधका छन्। लागुऔषधका ५४ मुद्दा मात्र फछर्यौट भएका छन् भने एक सय ७५ मुद्दा बाँकी छन्। खुला सीमानाका कारण जिल्लामा लागुऔषध कारोबारी तथा प्रयोगकर्ताको संख्या वृद्धि भएको हो। तर ठूला कारोबारीहरुलाई भने प्रहरीले पक्राउ गरेको तथ्यांक जिल्ला अदालतमा छैन। ठूला कारोबारीविरुद्द मुद्दा नै छैन। १० ग्रामभन्दा कम लागुऔषध भेटिएका प्रयोगकर्ताविरुद्द मुद्दा चलाइएको छ। ३० ग्रामको उदाहरण एक मात्र छ।
यस्तै जबरजस्ती करणीका २ सय ५ मुद्दामा ७३ फछर्यौट र एक सय ३२ बाँकी रहेका छन्। कर्तव्य ज्यानका २२ मुद्दामा १३ फछर्यौट र ९ बाँकी, चेक अनादरका २ सय ९१ मुद्दामा एक सय ६१ फस्र्यौट र एक सय ३० बाँकी छन्। जिल्लामा एक सय ४१ मुद्दामा बालबालिका संलग्न रहेकोमा ६३ मुद्दा फछर्यौट भएका छन् र ७८ बाँकी छन्।
जिल्ला अदालत कैलालीमा मुद्दा फछर्यौटको दर कम रहेको छ।