सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गर्न भौतिक संरचना पर्याप्त भएको ठहर

२०७९ असार २७, १०:१६ कमल सावद

धनगढीः कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचना पर्याप्त हुने ठहर गरिएको छ। विश्व विद्यालयका लागि आवश्यक प्रशासन, अस्पताल भवन, चिकित्सा शिक्षा, छात्रवास लगायतका भौतिक संरचना तयार छन्। चिकित्सा विश्व विद्यालयका लागि आवश्यक भौतिक संरचना तथा उपकरणहरु गेटामा सम्भव हुने प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ समितिले ठहर गरेको हो। 

अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार भएपनि कानून नभएकाले सञ्चालनमा आएको छैन। चिकित्सा विश्व विद्यालयका लागि आवश्यक कानून निर्माण गर्दै तत्काल सञ्चालन गर्नुपर्ने माग गरिएको छ।  कैलालीको गेटामा झण्डै ५ अर्ब खर्चेर चिकित्सा शिक्षा अध्यायन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार छन्। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिले भौतिक संरचना निर्माणको ९० प्रतिशत काम पूरा गरेको हो। अब सडक, खानेपानी, ढल, छात्रवास तथा प्रखाल निर्माणको काम मात्र बाँकी छ। 

चिकित्सा विश्व विद्यालय सञ्चालनका लागि भौतिक संरचना निर्माणको काम सकिएको गेटा मेडिकल पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले बताए। उनले भने, ‘हामीले गत वर्ष नै अस्पताल र एमबीबीएसको अध्ययनका लागि भौतिक संरचनाहरु तयार पारेका छौ। अहिले निर्माण थालिएका संरचनाहरु थप हुन्। झण्डै पाँच अर्बका संरचना तयार भएका छन्। २ अर्बका संरचनाहरु निर्माणको चरणमा छन्। आगामी आर्थिक वर्षमा सबै संरचनाहरु निर्माणको काम पूरा हुन्छ।’

गेटामा चिकित्सा विश्व विद्यालय सञ्चालनका लागि भौतिक संरचना प्रयाप्त हुने ठहर गरिएको छ। भौतिक संरचनामा उपकरण जडान भए अस्पताल सञ्चालन गर्न सकिने भएको हो। अस्पतालसँग चिकित्सा शिक्षा अध्ययनका लागि भौतिक संरचना तयार छन्। तर नेपाल सरकारसँग चिकित्सा विश्व विद्यालय सञ्चालनका लागि कानून छैन। प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले अन्य प्रदेशमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपनि सुदूरपश्चिममा एक पनि नभएको बताए। उनले सुदूरपश्चिमको स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षाका लागि गेटामा चिकित्सा शिक्षा विश्व विद्यालय आवश्यक हुने बताए। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताविक गेटा मेडिकल कलेजका लागि भौतिक संरचनाहरु निर्माण गर्दैछ। तर स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनका लागि चिकित्सा विश्व विद्यालय आवश्यक हुने तर्क प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको छ। उनले नेपाल सरकारले कानून निर्माण गर्दै चाँडो गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग गरेका छन्। 

 

 

गेटामा निर्माण भएका भौतिक संरचनाको स्थलगत निरीक्षणपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले विश्व विद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिने आश्वासन दिएको छ। समितिले सरकारलाई कानून निर्माणका लागि दबाब दिने समितिका सभापति योगेश भटराईले बताए। उनले सुदूरपश्चिममा चिकित्सा शिक्षा विश्व विद्यालय भए मानव सूचांकमासमेत सुदूरपश्चिमको स्तरवृद्धि हुने बताए। सुदूरपश्चिमका लागि चिकित्सा शिक्षा विश्व विद्यालयको माग हुँदै आएको बताउदै उनले संघीय शिक्षा, स्वास्थ्य तथा प्रधानमन्त्रीसँग पनि यो विषयमा छलफल गर्ने बताए।

चिकित्सा शिक्षा विश्व विद्यालय सञ्चालनको माग गर्दै कैलालीमा संघर्ष हुँदै आएको छ। नेपालमै पहिलो पटक सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय सञ्चालनको माग स्थानीयले गर्दै आएका हुन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस