सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनीमा मतदाता संख्या बराबर वृक्षारोपण गरिने 

२०७९ जेठ २८, ०८:५७ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकाले मतदाता संख्या बराबर वृक्षारोपण गर्ने भएको छ। गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जनाएको हो।

पालिकाले वृक्षारोपणमा सहभागी हुनका लागि आवेदन दिन आग्रह सूचनामार्फत आग्रह पनि गरेको छ। मतदाता संख्या बराबरका फलफूलका बिरुवा रोपेर गाउँपालिकाबासीहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी बताए।

अहिले बर्खे फलफूल अन्तर्गत कागतीका विरुवा वितरण गरिने हुँदा कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीहरुलाई आवेदन दर्ता गर्न आग्रह गरिएको छ। आवेदन दर्ता असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा गर्नुपर्ने सूचनामा उल्लेख छ।

वृक्षारोपण कार्यक्रममा सहभागी हुनेहरुले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने, कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख छ। डिलाशैनी गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही संख्यामा वृक्षारोपण गरिने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस