अछामको ढकारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सवार गाडी पल्टियो
धनगढी: अछामको ढकारी गाउँपालिकाको गाडी पल्टिएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।
धनगढीबाट जाँदै गर्दा आज बिहान ५ बजे साँफेबगरमा गाडी पल्टिएको बताइएको छ। दुर्घटनामा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका र उनको ध्रुवतारा अस्पताल साँफेबगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए। गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने कुनै चोट नलागेको उनले बताए।
त्यस्तै, गाडीमा ढकारीकी उपाध्यक्ष नेत्रकलादेवी शाही, उनको १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका प्रवक्ता विष्टले बताए। उनीहरुलाई चोटपटक भने नलागेको बताइएको छ।