दार्चुलाको टिंकरमा टेलिफोन सेवा सुरु
दार्चुला: दार्चुलाको टिंकरमा टेलिफोन सेवा सुरु भएको छ। व्यास गाउँपालिका–१ टिंकरमा फोन सेवा सञ्चालनमा ल्याउन भिस्याट जडान गरिएको खलंगास्थित नेपाल टेलिकम दार्चुला कार्यालयले जनाएको छ। तत्काल तार तान्न सम्भव नदेखिएपछि भिस्याट जडान गरिएको बताइएको छ।
नेपाल टेलिकमको एनटी सेट प्रविधिको माध्यमबाट दुई लाइन फोन सेवा जोडिएको हो। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक नजिकको उक्त बस्तीमा मोबाइल सेटले काम गर्दैन। सञ्चार सेवा नहुँदा ७५ परिवार स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीलाई पनि सास्ती थियो। फोन लाइन जडान भएपछि स्थानीय हर्षित भएका छन्।