धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीलाई इन्टर्नसिपदेखि विद्यालयको शैक्षिक जिम्मेवारीसम्म
धनगढीः उच्च शिक्षालाई व्यावहारिक, सीपमूलक तथा समाजमुखी बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कैलाली बहुमुखी क्याम्पसबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
स्थानीय तह र शैक्षिक संस्थाबीच भएको उक्त सहकार्यले ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
समझदारीअनुसार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले धनगढी उपमहानगरपालिकाको स्थानीय विकास, योजना कार्यान्वयन तथा समाजसेवासँग सम्बन्धित क्षेत्रमा इन्टर्नसिप र व्यावहारिक सिकाइको अवसर पाउनेछन्।
त्यस्तै, धनगढी उपमहानगरपालिका–९ स्थित पार्वती आधारभूत विद्यालयलाई ‘एडप्ट स्कुल’ का रूपमा विकास गरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा कैलाली बहुमुखी क्याम्पसले आवश्यक सहयोग गर्ने भएको छ।
सूचना प्रविधिको प्रयोगलाई वडा तहसम्म प्रभावकारी बनाउन क्याम्पसमा अध्ययनरत बीएससी सीएसआईटी र बीआईटीका विद्यार्थीलाई विभिन्न वडा कार्यालयमा प्रयोगात्मक कार्यका लागि खटाइने समझदारीसमेत भएको छ।
विद्यार्थीले वडा कार्यालयमा सूचना प्रविधिसम्बन्धी काममा प्रयोगात्मक अनुभव हासिल गर्नुका साथै स्थानीय तहका सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समझदारीले विद्यार्थीको नेतृत्व क्षमता, व्यावसायिक दक्षता तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, स्थानीय तहको विकास प्रक्रियामा युवा जनशक्तिको प्रत्यक्ष सहभागिता बढाउँदै शैक्षिक संस्थामा हासिल गरेको ज्ञानलाई समुदायको आवश्यकतासँग जोड्ने अवसरसमेत सिर्जना हुने जनाइएको छ।
धनगढी उपमहानगरपालिका र कैलाली बहुमुखी क्याम्पसबीचको यो सहकार्यले शिक्षण संस्थाबाट उत्पादित जनशक्तिलाई स्थानीय विकासको अभ्याससँग जोड्नुका साथै स्थानीय तह र विश्वविद्यालयबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।