सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिग टु :  नेपालले आज ओमानसँग खेल्दै

। फोटो स्रोत ।
२०७९ जेठ २६, ०९:२८ खबर संवाददाता

काठमाण्डौँः आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ।

बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो। पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ। खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।

अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो। त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो। 

त्यसबाट नेपाललाई केही सहयोग पुग्ने विश्वास गरिएको छ। तर ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेल र प्रशिक्षणका क्रममा घाइते भएपछि नेपाल टिमलाई ओपनिङमै चिन्ता थपिएको छ।

नेपाल क्रिकेट संघ –क्यान)ले दुवै खेलाडीले पहिलो खेल खेल्ने सम्भावना कम देखेपछि विकेटकिपर ब्याटर सुबास खकुरेललाई अमेरिका पठाइसकेको छ। कुशल र आसिफ फिट नभए टिममा रहेका ओपनर सुनिल धमला र सुबासले नेपालको ओपनिङ गर्ने लगभग पक्का छ।

आसिफलाई अभ्यास खेल अन्तर्गत नेपाली अल स्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो। उनले नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको दोस्रो खेल खेलेनन्। कुशललाई हुरिकेन्स विरुद्धको खेलमा फिल्डिङका क्रममा हृयाम्स्िट्रङ समस्या भएको थियो। त्यसैले पछिल्लो समय जमिरहेको ओपनिङ जोडीमा यस पटक परिवर्तन हुनेछ।

तेस्रो नम्बरमा देव खनालले ब्याटिङ गर्नेछन्। त्यसपछि दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र आसिफ शेखले नेपालको मिडल अर्डर सम्हाल्नेछन्।

कन्डिसन अनुसार सातौं नम्बरमा विनोद भण्डारी र आदिल अन्सारी मध्ये एकले खेल्न सक्नेछन्। तीव्र बलिङमा सोमपाल कामी र करण केसी खेल्नेछन् भने स्पीनमा कप्तान सन्दीप लामिछानेलाई सागर ढकाल वा सुशन भारीमध्ये एकले साथ दिनेछन्।

पछिल्लो चार एकदिवसीय अन्तर्राष्ट्रियमा ओमान नेपालमाथि हावी छ । ती चारै खेल लिग टु अन्तर्गत नै थिए। २०२० मा नेपालमै भएको शृंखलामा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो। टीयू मैदानमा नेपाल पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

त्यसपछि गत वर्ष ओमानमै भएको शृंखलामा भने पहिलो खेलमा ओमान विजयी हुँदा दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोली अहिलेसम्म चार खेल हुँदा ओमानले ३ खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ।

पछिल्लो पटक ओमानमै भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई दुई पटक पराजित गरेको थियो। त्यसअघि चारदेशीय श्रृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो। तर यो परक फर्म्याट हो। ओमान र नेपाल पछिल्लो समय परिचित प्रतिद्वन्द्वीको रुपमा रहेका छन्। त्यसैले अमेरिका भ्रमणमा यी दुई अवे टोलीको खेल हेर्नलायक हुने अनुमान छ।

लिग टू मा अन्तिम शृंखला खेलिरहेको ओमान ३३ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा छ। नेपाल १२ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ। कूल ७ टिमले प्रतिस्पर्धा गरिरहेको यस लिगबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष जिम्बाब्बेमा हुने आईसीसी विश्वकप छनोटमा स्थान पक्का गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस