तालिमप्राप्त कुकुरसहित डिएसपीको कमान्डमा सीआइबी टोली खटाइयो
अछाममा किशोर मृत्यु प्रकरण
धनगढीः अछाममा किशोर मृत्यु प्रकरणमा विवाद बढेपछि प्रदेश प्रहरी कार्यालयले डिएसपी मनोहर भट्टको नेतृत्वमा सीआइबी टोली पठाएको छ। शनिबार डिएसपी भट्टको नेतृत्वमा ६ जनाको टोली अछाम पठाइएको डिआईजी मोहन आचार्यले बताए।
उक्त टोली अछाम पुगिसकेको उनले बताए। 'डिएसपी मनोहर भट्टसहित ६ जनाको सीआइबी टोली अछाम पठाइएको छ, कुकुरसहितको टोली पठाइएको हो, उनीहरु त्यहाँ पुगिसकेका छन्,' डिआईजी आचार्यले भने।
यस्तै शनिबार नै जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम घटनास्थलमा परिचालन गरिएको बताइएको थियो।
१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ बस्ने बलबहादुर शाहीका १७ वर्षीय छोरा विनोदबहादुर शाही शनिबार बिहान १० बजेर २० मिनेटमा मृत भेटिएका थिए। उनी पञ्चदेवल विनायक–४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए।
केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन्। किशोरको हत्या भएको आशंका गरिएको छ। स्थिति तनावग्रस्त बनेपछि बिदामा काठमाडौं गएका अछामका डीएसपी रविराज थपलिया पनि जिल्ला फर्केका छन्।