अछाममा किशोर मृत फेला प्रकरणः प्रहरी कार्यालय र गाडी तोडफोड
धनगढीः अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ। जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो।अहिले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय समेत तोडफोड भएको उनले बताए।
केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। अहिले एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन्। प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन्।