जिसस अछाममा कांग्रेसले एकलौटी गरेको एकीकृत समाजवादीको आरोप
अछाम: एकीकृत समाजवादीले अछामको जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको आरोप लगाएको छ। स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनी पनि एकीकृत समाजवादीले कांग्रेसलाई दिएको छ।
‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो’, अछाम घर रहेका एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हामीले सहयोग नगरेको भए कुनै हालतमा कांग्रेसको उम्मेदवारको जित हुने थिएन ।’
कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहले आफूले गरेको सहमतिलाई उल्लंघन गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले बताए। तुर्माखाद गाउँपालिका र मंगलसेन नगरपालिकामा कांग्रेसलाई सहयोग गरेबापत जिल्ला समन्वयको उपप्रमुख र २ सदस्य जिल्ला समन्वयमा सहभागी गराउने पूर्व सहमति बनेको उनले बताए।
उनले कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द शाह, जिल्ला पूर्वसभापति भरत स्वाँर र हालका वर्तमान सभापति शाहसँग निर्वाचन अघि सहमति बनेको बताए। कांग्रेसले दिएको धोकाको जवाफ आउने संसदीय चुनावमा फर्काउने भण्डारीले चेतावनी दिएका छन्।
उता कांग्रेसका सभापति पुष्पबहादुर शाहले भने हैसियत अनुसार भाग लगाएको बताएका छन्। ‘माओवादी र एकीकृत समाजवादीलाई १/१ सदस्य जिल्ला समन्वय समितिमा दिएका छौं। शंकर भण्डारीले भने अनुसार हिस्सेदारी पाउन त स्थानीय तहमा जित्न पनि प¥यो नि’ उनले भने।