छन्दको रङ्गमा रङ्गिदै तीर्थ
२०५९ सालमा डोटीको सरस्वतीनगरमा रहेको भागेश्वर प्राविमा कक्षा ५ मा अध्ययन गर्दा तीर्थराज भट्ट ‘मलिन‘ ले साहित्य नगरीमा पहिलो पटक पाईला टेकेका थिए। तर त्यतिवेला साहित्यिक क्षेत्रमा कुनै किसिमको सफलता पाउने लक्ष्य भने उनीमा थिएन्। मन भित्रको रहरले मात्रै तीर्थले ५ कक्षामा अध्ययन गर्दा पहिलो पटक कविता कोरेका हुन्। सरसफाईसंग सम्वन्धित त्यो कविता लेखिसकेपछि साहित्य श्रृजनामा निरन्तरता नै दिनुपर्छ भन्ने लक्ष्य पनि थिन्। तर परिवारका सदस्यहरुको माध्यमले तीर्थले लेखेको त्यो कविता एक दिन बरिष्ठ साहित्यकार निर्मलकुमार भण्डारीको हातमा प¥यो।
भण्डारीले ५ कक्षामा पढ्दै गरेका तीर्थको लेखनीबाट साहित्यकार भण्डारी पनि प्रभावित भए र उनको लेखनीको चर्चा पनि गरे। बरिष्ठ साहित्यकार भण्डारीले कविताको चर्चा गरेपछि तीर्थलाई पनि कविता लेखनीमा चाँसो बढाएको हो। २०४९ साल पौष १७ गते जोरायल गाउंपालिका ३ बेल्टुक्रा डोटीमा जन्मिभएका तीर्थराज भट्ट ‘मलिन‘ अहिले नेपाली साहित्यको सुदूरपश्चिम क्षेत्रमा परिचित नाम भईसकेको छ।
५ कक्षा उत्तिर्ण गरिसकेपछि तीर्थको विद्यालय फेरियो तर उनले कविता लेखनीको कार्यलाई भने निरन्तरता नै दिए। २०६३ सालमा कक्षा ९ मा शिवपुर माविमा अध्ययन गर्दा पहिलो पटक तिर्थले छन्दमा कविता लेखे। छन्द कविता लयात्मक हुने भएकाले उनले पनि छन्दमा कविता लेख्न सुरु गरेका हुन्। अहिले धेरै पुराना श्रष्टाहरुले पनि छन्दमा कविता लेख्न छोडिसकेका बेला ९ कक्षामै अध्ययनरत हुँदा छन्दमा कविता लेख्ने आट गर्नुपनि ठुलो कुरा थियो। तर उनले अव छन्दमै कविता कोर्ने मन बनाईसकेका थिए।
त्यस अगाडी पनि उनले धेरै कविता लेखिसकेका थिए तर छन्दमा भने पहिलो पटक कलम चलाएका थिए। तीर्थका अनुसार नेपाली र सामाजिक विषयमा गृहकार्यको रुपमा पनि कविता लेख्न पर्ने भएकाले कविता लेखनीमा चाँसो बढेको हो। ९ कक्षामा छन्दमा कविता लेखिसकेपछि भने उनले पछाडी फर्केर हेर्न पर्ने अवस्था आएन्। उनको कलम लगातार रुपमा छन्दमा कविता लेखनीमै सक्रिय थियो।
एसएलसी उत्तिर्ण गरिसकेपछि उनले फेरी विद्यालय परिवर्तन गर्नुप¥यो र घण्टेश्वर उच्चमाविमा भर्ना भए। सो समयमा गजलले नेपाली साहित्य नगरीमा माहोल तताएको थियो। त्यहि माहोलले तीर्थलाई पनि छोड्ने कुरै भएन। उनले पनि कवितासंगै गजल श्रृजनामा समेत सक्रियता बढाए। उनले कर्मनाशका भुल्काहरु गजल संग्रह प्रकाशन पनि गरिसकेका छन्। सेती महाकाली बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा पनि तीर्थले कविता, गजल र लेख लेखनीको कार्यलाई निरन्तरता दिए।
जल चढाउँछन् मन्दिरमा पोखल चढाउँछन्,
तिनै, शरीरमा मदिराका बोतल चढाउँछन् ।
'संगत गुणाका फल' असत्य सावित हुन्छ,
जब हिलोले काँधमा कमल चढाउँछन् ।
समयले तिनै आँखामा सपना सजाउनेछ,
अहिले युवती आँखामा गांजल चढाउँछन् ।
उजाड निम्त्याउन खोज्छन् सरकारमा बसेकाहरू,
सोही क्रममा तस्करलाई हरियो जंगल चढाउँछन् ।
२०७२ सालमा अध्ययनकै लागि धनगढी छिरेका उनलाई धनगढी र आसपासका क्षेत्रमा हुने साहित्यिक गतिविधिमा सक्रियता बढाउने मौका मिल्यो। २०७२ साल माघमै उनले धनगढीकै एरिष्टो बोर्डीङ स्कुलमा अध्यापन पनि सुरु गरे। सुदूरपश्चिमाञ्चल साहित्य समाज, कैलाली जनपुस्तकालय, गजल मञ्च, गोदावरी साहित्य तथा सस्कृत प्रतिष्ठान लगायतका थुप्रै साहित्यिक संघसस्थाहरुको आयोजनामा हुने कार्यक्रममा उनको सहभागिता रहदै आयो। उनले छन्द कविता र गजलमा कलम चलाईरहेका बेला डोटेलीमै गजल लेखनीको कार्यलाई पनि श्रीगणेश गरे। डोटेली भाषाको पत्रिका सुदूर चिनारीमा डोटेली भाषामै लेखिएका लेखहरु पनि प्रकाशन हुन थाले।
जे भणेलक फुचेरा नाकैन माण्णा
के तेरा हुन् के मेरा नाकैन माण्णा
बुझेगाझेई द्वालीका कौवा मछ्यारा
धेकाउना नखेरा नाकैन माण्णा
हाम् पानी तिसकी झली जसि ब छ
कुवा धारा पँधेरा नाकैन माण्णा
मुसाई माऊ खेतैनो मेरोइ हो सोच्चा
लगाउना ओकेरा नाकैन माण्णा
बिस्कुन खायो उजेल्यो चोडाईन धेकायो
हा ! भण्णोइ हुँ भंगेरा नाकैन माण्णा ।
२०७१ सालमा घटेको देशकै सबैभन्दा ठूलो बस दुर्घटना, जोरायल बस घटनाको स्मृति ग्रन्थ ’सम्झनाको संगालो’ प्रकाशनका लागि उनले नेतृत्वदायि भुमिका निर्वाह गरेका थिए। सोही घटनामा ज्यान गुमाएकी कवीयत्रिका कविता संकलन गरी ’आंखिर यही हो जिन्दगी’ नामक कृतिको सम्पादन पनि उनले गरेका थिए। नेपाली लेखक संघ डोटीको मुखपत्र ’लेखक मञ्च’ अंक एक २०७३ र अंक दुई २०७४ मा पनि उनले सम्पादन गरो थिए। अंक एकलाई प्राडा जयराज पन्त स्मृति विशेष बनाइएको र अंक दुईलाई पुर्णान्द भट्ट स्मृति विशेष बनाइएको थियो।
उनी क्याम्पस तथा विभिन्न संघसंस्थाले आयोजना गरेका साहित्यिक प्रतियोगितामा पुरस्कृत भईसकेका छन्। यस्तै २०७० सालमा साविकको सरस्वती नगर गाविसबाट दोसल्ला सहित सम्मानित भईसकेका छन्। सुदूर चिनारी द्विमासिक पत्रिकाको सातौं वार्षिक उत्सवमा २०७४ सालमा पनि तीर्थ सम्मानित भईसकेका छन्।
पर्खाल भित्र होस् या पर्खाल बाहिर ,
तिमी नजानु आँखाको चाल बाहिर ।
माछो अनकूल समयमा कमिला खान्छ,
कमिलो माछा खानेछ, ताल बाहिर ।
तत्काल केही गर्न सक्दैन र ऊ बाहिरिन्छ,
योजना अनेकौं बनाउँछ कार्यकाल बाहिर ।
विदेश जाने त गए, तर कयौं मानिसहरू,
नेपालमै बसेर, रहेका छन् नेपाल बाहिर ।
अहिले तीर्थराज भट्ट नेपाली साहित्यको सुदूरपश्चिम क्षेत्रमा धेरैका लागि नयाँ नाम होईन्। उनले युवा भएर पनि छन्द कविता र डोटेली भाषामा गजल लेखनीलाई जारी राख्दा धेरै पुराना श्रष्टाहरुलाई पनि अचम्मीत तुल्याउने गरेको छ। छन्द कविता लोप भईरहेको अवस्थामा छन्द कवितालाई जोगाई राख्ने नयाँ पुस्ताका अभियान्तामा अहिले तीर्थ भट्टको नाम पनि आउने गरेको छ।
तेले पर्वतले अरण्य वनले, वा चाल सैपालले,
सुर्माताल,हिमाल,माल, थलले, सेती नदी छालले,
खोज्दैछन् लिपुलेक, भासुभिरले, यर्शा लुकाई अपि,
रामारोशनका समग्र रमिता, पर्खी रहेछन् कवि !
शार्दूलविक्रीडित छन्द
कविता वा साहित्य के हो भन्ने सन्दर्भमा
मीठो स्वाद विशाल भाव रसिलो, गौलो महासागर,
साँच्चै काव्य कला वसन्त ऋतुका, हुन् पल्लवी चामर,
बोकी जांगर चाल छाल तुलना, सेती र काली नदी,
गर्छन् सिञ्चन काव्यले हृदयमा, सञ्जीवनी औषधि ।
यो साहित्य कदापि हैन खहरे उर्लेर बग्ने भल,
रोपी खेत र बागमा उनिउमा लाग्दैन पक्का फल,
सानो उद्यमले सजिन्न सजिलै बांझो धरा बञ्जरा,
हेरौं सक्दछ छोप्न को ? गगनका उड्दै गरेका चरा !
सुपको साहित्य निरन्तर मौलिरहने र साहित्यिक मुहान कहिलै नसुक्ने भन्ने सन्दर्भमा
झुप्रो होस् अथवा कतै महल होस् छानो हुँदा पत्थर,
भित्ता छन् कविता कथा गजलका,भत्किन्न हाम्रो घर,
बग्छिन् छन्द, उमंग रङ्ग बटुली, सेती नदी निर्मल,
काली आगनमा सुसाइ रहदा, सुक्दैन हाम्रो घर ।