सुदूर नेपाललाई विश्वसँग जोड्दै

घामको भरमा सुदूर पहाडको सञ्चार

२०७५ माघ २५, १०:२९ खबर संवाददाता

दार्चुलामा फोन लाइन नभएको २९ घण्टा बढि भइसकेको छ । बिहीबार  बिहान ६ बजेदेखि गएको स्काई नमस्ते फोनको लाइन अझै आएको छैन् । मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको हो । बिहानदेखि उच्च भू भागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको छ । जिल्लाभरी दर्जन बढी नेपाल टेलिकमका टावरहरु सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले काम गरेको छैन् । जिल्लाको मुख्य रिपिटर टावरमै विद्युत नहुँदा जिल्ला भरीको सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबाट दार्चुलाको बालशिखर रिपिटर टावर भएर जिल्लाभरीको सञ्चार हुने गर्छ । तर मुख्य टावर नै घामको भरमा सञ्चालन हुने भएपछि जिल्लाभरीको सञ्चार अवरुद्ध रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताए । मालिकार्जुन २ स्थित बालशिखर टावरमा जिल्लाको मुख्य रिपिटर टावर हो । टावरमा सोलार सिस्टम मार्फत चल्दै आएको छ । तर बुधबारदेखि घाम लाग्न छोडेपछि सोलारले काम गरेको छैन्, गुरुङले भने । नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन विस्तारमा लापरवाही गरेपछि जिल्ला सञ्चार विहीन भएको हो ।

हालसम्म जिल्लामा आधा दर्जन टेलिकम टावरमा मात्रै विद्युतीकरण पुगेको छ । त्यो बाहेकका सबै टावरहरु घामको भरमा सञ्चालनमा छन् । जसको कारण बेला बेला जिल्लाको सञ्चार अवरुद्ध हुँदै आएको टेलिकम प्रमुख गुरुङको भनाई छ । अझै केही दिन घाम नलाग्ने हो भने टेलिफोन सेवा अवरुद्ध हुन सक्छ उनले भने । घामको विकल्प केही नभएपछि सञ्चार अवरुद्ध रहेको हो । जिल्लाभरी सञ्चार पुर्याउने उद्देश्यले टावर जडान भएका छन् । तर घाम नलाग्दा सबै टावरले काम गर्दैन् । केहि दिनदेखिको निरन्तर वर्षा र हिमपातका कारण जिल्लाभरीका अधिकांश टावरले काम गरेका छैनन् ।नौगाड, व्यास, अपी, लगायतमा रहेका स्काई टावरले दुईसातादेखि काम गर्न छोडेको स्थानीय रघुबीरसिह ठगुन्नाले बताए । गाउँघरमा सञ्चार गर्नै समस्या छ । टेलिकमले टावर सुचारु गर्नतर्फ ध्यान दिएको छैन्, उनले भने । विद्युत भएको क्षेत्रमा समेत विद्युतीकरणको प्रयास नहुँदा स्थानीय सञ्चार विहीन बन्न पुगेका छन् । बिहानदेखि टेलिफोन लाइन अवरुद्ध भएपछि सरकारी कामकाज समेत प्रभावित भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । इमेल इन्टरनेट र फोन गर्न पाइएको छैन् । जिल्लाको अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन, उनले थपे । अहिलेको समयमा सञ्चार सेवा नै घामको भरमा चलेपछि कसरी कामकाज हुन्छ । यसअघि पहिलो पटक भएको हिमपात र वर्षाको कारण जिल्लामा तीन दिनसम्म फोन संचार बन्द भएको थियो ।

नाम मात्रैका टेलिफोन टावर
नेपाल टेलिकमको कार्यालय रहेको सदरमुकाम खलंगामा विद्युतीकरण सहितको टेलिकम टावर छ । तर मुख्य रिपिटर टावरमा विद्युतीकरण नभएपछि खलंगामा रहेको टेलिकमको काम हँुदैन् । यस्तै खलंगाको वडा नम्बर ४ बंगाबगडमा नमस्ते फोन टावरमा विद्युतीकरण छ । महाकाली नगरपालिका वडा नम्बर १ छापरी, वडा नम्बर २ झुस्कु, वडा नम्बर ७ धाप र वड नम्बर ९ दत्तु उलानी टावरमा विद्युतीकरण गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, शैल्यशिखर १ बलाँच, र मालिकार्जुन गाउँपालिकाको कुचाकोट टावरमा विद्युतीकरण पुर्याइएको छ । योबाहेक शैल्यशिखर ४ रानिशिखर, वडा नम्बर ६ बगोरा, नौगाड गाउँपालिका ३ खार, वडा नम्बर ४ सिप्टी, अपी हिमाल गाउँपालिका ४ खण्डेश्वरी, व्यास ६ कैचुला, वडा नम्बर १ छांगरु, मालिकार्जुनको कनौडा, वडा नम्बर ४ ऐरीछाना र मुख्य रिपिटर टावर बालशिखरका टावरहरु सोलार मार्फत सञ्चालन हुँदै आएका छन् । यस्तै मालिकार्जुन गाउँपालिका ८ शंकरपुर मार्मा गाउँपालिका ४ तपोवन र व्यास २ दाम्दाकोट राप्ला, नौगाड ४ सिप्टी लगायतका टावरहरुमा नमस्ते फोन सेवा सञ्चालनको तयारी गरिएको छ । यी सबै ठाउँमा टावर जडान भइसकेका छन्, टेलिकम प्रमुख गुरुङले भने, उपकरण जडान हुने वित्तिकै सबै ठाउँमा नमस्ते फोन सेवा सुचारु हुनेछ ।

असी हजार सीम कार्ड वितरण
नेपाल टेलिकम दार्चुलाको आधिकार तथ्यांक अनुसार जिल्लाभरी हालसम्म असी हजार हाराहारीमा सीम कार्ड वितरण गरिएको छ । जिल्लाभरी स्काई, नमस्ते, पोष्टपेड लगायतका सीम वितरण भएको हो । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या एक लाख ३३ हजार दुई सय ७४ छ । टेलिकमको तथ्यांकलाई आधार मान्ने हो भने हरेक घरमा मोवाइल फोनको पहुँच पुगेको छ । टेलिकम दार्चुला बाहेक व्यापारीहरुले डिलर  मार्फत वितरण गरिएको सीम हेर्ने हो भने सबै जनसंख्याको हात हातमा मोवाइल सेवाको पहुँच पुगेको देखिन्छ, टेलिकम प्रमुख कृष्णबहादुर गुरुङले भने । टेलिकम दार्चुलाका अनुसार हालसम्म नमस्ते प्रिपेडका ४२ हजार २९४, पोष्टपेड १३५, स्काई प्रिपेड ३३ हजार ९१४, पोष्टपेड ८५६ वटा सीम वितरण गरिएको छ । यस्तै सदरमुकाम खलंगामा मात्रै ९८७ वटा ल्याण्ड लाइन वितरण भएको छ । शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारमा ११३ वटा लाइन ल्याण्ड लाइन वितरण गरिएको छ । सदरमुकाम खलंगामा ४२५ लाइन एडिसिएल इन्टरनेट जडान गरिएको छ भने गोकुलेश्वरमा ६९ लाइन इन्टरनेट वितरण गरिएको टेलिकम दार्चुलाले जनाएको छ ।

भारतीय सीमको प्रयोग बढ्यो
दार्चुलाका दुई जना पत्रकार रामसिह धामी र किरन धामीले बिहानै नेपाली नेटवर्क नहुँदा भारतीय सीम प्रयोगमा ल्याइएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । नेपाल टेलिकमको सेवा प्रवाह बिहानैदेखि अवरुद्ध भएपछि साथीहरुसँगको सञ्चारको लागि भारतीय सीम सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । एक जना मोवाइल विक्रेता प्रविण ठगुन्नाले फेसबुकमा लेखेका छन्, नेपाली सीमको काम छैन्, भारतीय एटिल, सीम चलाउनुपर्ने बाध्यता छ । यो त प्रतिनिधिमूलक घट्ना मात्रै हो । पछिल्लो समय दार्चुलाको सञ्चार दिनहुँ जसो अवरुद्ध हुन थालेपछि सदरमुकाम खलंगामा बसोबास गर्ने कर्मचारी, व्यापारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार र स्थानीयले भारतीय सीमको प्रयोग गर्न थालेका छन् । दुई वर्षअघि सम्म नेपालतिरको टेलिफोन सेवा प्रभावकारी थियो, स्थानीय लोकेन्द्रसिह धामीले भने, नेपाली सीम भारतको पिथौरागढदेखि कालापानीसम्म बस्ने भारतीय सुरक्षाकर्मीले प्रयोग गर्थे । तर दुई वर्षको अन्तरमा ठिक उल्टो भएको छ ।

अहिले भारतीय बजारबाट छ्याछ्याप्ती रुपमा एटिएल, विएसएनलका सीमहरु दार्चुलाको लेकम गाउँपालिका ३ लालीदेखि व्यास गाउँपालिकाका स्थानीयले प्रयोग गर्न बाध्य छन् । अहिले भारतीय बजारबाट सहजै सीम पाइन थालेपछि भारतीय सीम नेपालमा प्रयोग बढेको हो । धामी भन्छन्, भारतीय सीम नेपालको सीम भन्दा सस्तोमा डाटा फोन प्रयोग हुने गरेको छ । भारतीय सीम एक सय ९९ रुपैयाँले महिना दिनसम्म प्रति दिन एक जिवी डाटा चलाउन पाइन्छ । यस्तै फोन र म्यासेज निशुल्क हुने गरेको छ । जसको कारण अहिले भारतीय सीमको प्रयोग नेपालमा बढेको धामीको भनाई छ । नेपाली सीममा व्यालेन्स हाल्ने वित्तिकै झ्याम्म काटिहाल्छ । अहिले भारतीय सरकारले ठाउँठाउँमा फोन टावर राखेपछि नेपालतिर सीम प्रयोग बढेको छ । 

कमेन्ट लोड गर्नुस