नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ। आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ। कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ७२ अर्ब ७२ करोड ९५ लाख ७० हजार हाराहारीमा ओर्लेको छ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
उत्पादन १६.४३ र सामूहिक लगानी कोष ०.२५ अङ्कले उकालो लागेको छ। त्यस्तै, बैंकिङ ५.१३, व्यापार १०.५९, होटल तथा पर्यटन ३.७१, विकास बैंक ४२.०१, जलविद्युत् ४०.५, वित्त १७.६४, निर्जीवन बीमा १००.१६, अन्य ११.३६, लघुवित्त १३.५९, जीवन बीमा ९५.८५ र लगानी १.१ अङ्कले ओरालो लागेको छ।
कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु चार करोड २१ लाख ८२ हजार बराबरको कारोबार भयो। त्यस्तै, अपि पावर कम्पनी चार करोड छ लाख ६२ हजार ६४८, नेष्डो समृद्ध लघुवित्त रु तीन करोड पाँच लाख ५५ हजार ६०९, अरुण भ्याली हाइड्रोपावर दुई करोड ९२ लाख ५९ हजार ७०७ र हिमालयन डिस्टिलरी दुई करोड ८५ लाख ५३ हजार ४६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए। घटेको बजारमा सो कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो। एनआइबिएल समृद्धि फण्ड दोस्रो ५.०६, किसान लघुवित्त ४.०२, एनआइबिएल प्रगति फण्ड ३.६७ र मेगा म्युचुअल फण्ड एक का लगानीकर्ताले ३.३४ प्रतिशतले कमाए।
त्यस्तै, हिमालयन पावर पार्टनर ५.४१, मल्टिप्रपोज फाइनान्स ४.०२, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.०२, माहुली लघुवित्त ३.७३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाए।