उखु किसान र चिनी मिल बिच सहमती, कञ्चनपुरका किसानले थप सवा ८ करोड पाउने
सरकारले निर्धारण गरेको मूल्य नपाएको भन्दै झण्डै ५ दिन सम्म कटान बन्द गरेका उखु किसान र चिनी मिलहरुविच अन्ततः सहमती भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरुको अगुवाईमा पटक–पटक भएको छलफलपछि निष्कर्ष निकालीएको हो। सरकारले उखुको मूल्य निर्धारण गर्दा एउटा मात्रै मूल्य तोकपनि कञ्चनपुरका उखु किसानहरुले भने अव फरक किसिमका उखुको फरक मूल्य पाउनेगरि सहमती भएको हो। संघीय सरकारले उखुको मूल्य एउटा मात्रै निर्धारण गरेपनि कञ्चनपुरमा भने उखु किसानहरुले तीन किसिमका फरक–फरक मूल्य पाउने गरि स्थानीय सरकारको अगुवाईमा सहमती भएको हो। सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैँया निर्धारण गरेको थियो जस्मा चिनी मिलले ४ सय ७१ र सरकारले अनुदान वापत ६५ रुपैँया दिने निर्णय छ। तर कञ्चनपुरका उखु किसानहरुले भने नयाँ सहमती अनुसार तीन किसिमका फरक–फरक मूल्य पाउने उखु उत्पादक किसान हकहित संरक्षण समिति पुनरवासका अध्यक्ष रमेश थापाले बताए।
उखु उत्पादक किसान हकहित संरक्षण समिति, उखु किसान, स्थानीय तहका जनप्रतिनिधि र मिल सञ्चालकहरुको छलफलपछि तीन किसिमका मूल्य तोकिएको छ। उखु उत्पादक किसान हकहित संरक्षण समिति बेलौरीका अध्यक्ष हरिचन्द ठकुरीका अनुसार अर्ली उखुमा किसानले प्रतिक्विन्टल ४ सय ३६ रुपैँया, जनरल उखुमा ४ सय ११ र रिजेक्ट उखुमा ४ सय १ रुपैँया कञ्चनपुरका किसानहरुले पाउने भएका हुन्। त्यस्मा सरकारले प्रतिक्विन्टल अनुदान वापत ६५ रुपैँया थप दिने छ। यसअघि किसानहरुले अर्लीमा ४ सय ५, जनरलमा ४ सय ८५ र रिजेक्टमा ४ सय ४० रुपैया प्रतिक्विन्टल पाउँदै आएका थिए।
नयाँ सहमती अनुसार किसानहरुले अर्लीमा ३१, जनरलमा २६ र रिजेक्टमा २४ रुपैँया थप पाउने भएका हुन्। कञ्चनपुरको दक्षिणी क्षेत्रमा झण्डै ४५ प्रतिशत अर्ली, ३० प्रतिशत जनरल र २५ प्रतिशत रिजेक्ट उखु उत्पादन हुने गरेको छ। जस अनुसार किसाहरुले चिनी मिलबाट पहिले पाईरहेको रकममा बृद्धि भई अव झण्डै ८ करोड ३२ लाख ५० हजार थप रकम पाउने भएका छन्।
तर सरकारले निर्धारण गरेको मूल्य भन्दा किसानहरुलाई अहिले पनि ३५ देखि ७० रुपैँया सम्म प्रतिविक्न्टल घाटा भईरहेको छ। तर यसअघिका बर्षमा अर्ली उखुको मूल्य भन्दा जनरल र रिजेक्ट उखुको मूल्यमा एक सय रुपैँया कम हुने समस्या रहेकाले समग्रमा किसानहरु मारमा नपर्ने दावी संरक्षण समितिको छ। अर्लीमा प्रतिक्विन्टल ९ देखि ११, जनरलमा ८ र रिजेक्टमा ७ किलो चिनी निस्कीने गरेको छ। पुर्वी नेपालमा अर्ली उखु मात्रै लगाउने परिपाटी भएकाले सरकारले एउटै मूल्य निर्धारण गरेको तर पश्चिममा जनरल र रिजेक्ट उखु पनि विक्री हुने भएकाले नयाँ सहमती किसानहरुकै हितमा भएको दावी पुनरवास नरपालिकाका मेयर जीवनराज थापाको छ।
यता बेलौरी नगरपालिकका किसाहरुले नयाँ सहमती अनुसार उखु कटान र विक्री सुरु गरेपनि नगरपालिकाले भने सरकारले निर्धारण गरेकै मूल्य कार्यान्वयन गर्न मिलहरुलाई पत्राचार गरेको छ। सरकारको निर्णय विपरित कम मूल्यमा किसानहरुलाई उखु विक्री गर्न दवाव दिन नसकिने भएकाले सरकारले तोकेकै मूल्य कार्यान्वयन गर्नुपर्ने अडान बेलौरी नगरपालिकालको छ।