मुख्यमन्त्री विवाइसी महिला गोल्डकपः पुलिस फाइनलमा
धनगढीः विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। विहीवार छैठौं दिन धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो। पुलिसले वनदेवीमाथि ३–० को अन्तरले हराएर फाईनलको यात्रा तय गरेको हो।
पुलिसलाई फाईनलमा पुराउनका लागि निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन्। पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो। खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन्। ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन्। त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन् । र पुलिस सानदार जित सहित फाईनल पुग्न सफल भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् । वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार फाईनल खेल हुनेछ। फाईनल खेल शनिबार साँझ साढे ६ बजे दुई विभागीय टोली एफिएफ र पुलिस भिड्नेछन्।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ।
प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ।