सुदूर नेपाललाई विश्वसँग जोड्दै

३८ महिनामा सहजपुर–बोगटान सडकको १६ किलोमिटर मात्रै कालोपत्रे

२०७९ वैशाख ६, ०६:३० कमल सावद

धनगढीः सहजपुर–विपीनगर–बोगटान सडक शिलान्यास भएको गत फागुन ७ गते ३ वर्ष भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते सडकको कालोपत्रेका लागि शिलान्यास गरेका थिए।

३० महिनामा उक्त सडकको ५० किलोमिटर कालोपत्रे गर्न सम्झौता भएको थियो। तर ३८ महिनामा १६ किलोमिटर मात्रै कालोपत्रे भएको सहजपुर–विपिनगर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए। ‘१६ किलोमिटर पिच भइसक्यो। १२ किलोमिटर बेस, सव–बेस हालेर तयार भएको छ। सहजपुरतिर वैशाखभित्र सक्ने भनेका छौं। तर गाडी घोडा बिग्रिरहेका छन्’ उनले भने। 

डोटी क्षेत्रको १२ किलोमिटर सडकको सव–बेस, बेसको काम पूरा भएको हो। यस्तै कैलालीखण्डको बाँकी रहेको ३ किलोमिटर वैशाख महिनाभित्र कालोपत्रे सक्ने तयारी योजना कार्यालयको छ।  कालोपत्रे गरिएको सडक क्षेत्रमा पनि खोलामा आरसीसीको काम बाँकी छ। सडकको इस्टिमेटमा आरसीसी नभएकाले फेरि थप गरिएको योजना कार्यालयले बताएको छ। इन्जिनियर मल्लले भने, ‘वैशाखभित्र कैलाली यरिया पिच गर्ने भनेको हो। कैलालीमा तीन किलोमिटर बाँकी छ। सहजपुरतिर तीन, साढे तीन किलोमिटर बाँकी छ।’

२०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक निर्माणको काम थालिएको थियो। ट्रयाक निर्माण सुरु भएको ३४ वर्षमा १६ किलोमिटर सडक कालोपत्रे गरिएको छ। ३० महिनामा निर्माण पूरा गर्न सम्झौता भएको सडक ३८ महिनामा ७० प्रतिशत भौतिक प्रगति भएको छ। सडक क्षेत्रमापर्ने रुख कटानीको आदेशका लागि २९ महिना लागेको र कोरोना संक्रमणका कारण सडक निर्माणको काम प्रभावित भएको दाबी योजना कार्यालयको छ।

कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ५० किलोमिटर सडक सन २०२१ जुनमा सक्ने गरी ८ डिसेम्बर २०१८ मा पिआरएल कुमार जेभीसँग सम्झौता भएको थियो। तर काम नसकिएपछि सरकारले आउँदो जुलाई २८ सम्मका लागि समय थप गरेको छ। तर थपिएको समयमा पनि सडक निर्माणको काम पूरा नहुने निश्चित छ। 

२ अर्ब २५ करोड रुपैयाँ लागतको ५० किलोमिटर सडक निर्माणका लागि नेपाल सरकारले एक्जिम बैंक अफ इन्डियासँग ऋण लिएको थियो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस