जयपृथ्वीको मेयरमा एमालेबाट तीन नाम सिफारिस, गठबन्धन अलमलमै
धनगढीः नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। एमाले नगर कमिटीले अहिलेकी उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडा अध्यक्ष हरिचन्द्र जोशी र एमाले जिल्ला कमिटी सह–सहसचिव सुरतबहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस गरेको हो।
त्यस्तै, उपप्रमुखमा गंगा राना महर, जमुना चन्द सिंह, सुनिता खड्का धामी, सरिता भण्डारी, सविता खड्का विष्ट, डबल खड्का आकांक्षी देखिएका छन्। शनिबारदेखि ६ जनालाई राखेर मिलाउने प्रयास भइरहेको एमालेका नेताले बताएका छन्।
यता, गठबन्धन दलको भने अहिलेसम्म बैठक नै बस्न सकेको छैन। कांग्रेस नगरसभापति हिरेन्द्र छत्यालले वडास्तरमा उम्मेदवार तय गर्ने कार्य जारी रहेको बताए। २०७४ सालको चुनावमा एमालेले यो पालिकामा ८० मतले प्रमुख जितेको थियो। ११ वडा रहेको जयपृथ्वीमा एमाले एक्लैले ५ वडामा जितेको थियो। गठबन्धन हुँदा यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले ३३ वडा मागेको छ भने कांग्रेसले आफूले २०७४ सालमा जितेका साविककै वडासहित थप २ वडा आफूले पाउनुपर्ने माग गरेको छ।